News राजनीति

चुनावलाई पारदर्शी बनाउन आर्थिक कारोवारमा लगाम लगाउँने आयोगको तयारी

चुनावलाई पारदर्शी बनाउन आर्थिक कारोवारमा लगाम लगाउँने आयोगको तयारी

निर्वाचन आयोगले चुनावमा राजनीतिक दल र उमेदवारका लागि निर्वाचन खर्चसम्बन्धी आचारसंहिताको मस्यौदा तयार पारेको छ । राजनीतिक दलसँग छलफल गरेपछि अन्तिमरुप दिइने मस्यौदामा उमेदवार र दलहरुले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधान छ।

चुनावलाई मितव्ययी तथा पारदर्शी बनाउन बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने प्रावधान मस्यौदामा उल्लेख छ । निर्वाचन खर्च गर्दा दलको विधान बमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने कुरा आचारसंहितामा प्रस्ताव गरिएको छ ।

पाँचहजारभन्दा बढी चन्दा लिनुपर्ने भए बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने, चन्दाको रूपमा नगद लिएमा चन्दा दिने व्यक्ति वा संस्थालाई सो रकम बुझेको रसिद वा भर्पाइ दिनुपर्ने, खर्चको विवरण तथा बिल भर्पाइ अनिवार्यरूपमा राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने गरी आयोगले मस्यौदा बनाएको छ ।

खर्चको विवरण सन्तोषजनक नदेखिएमा आयोगले खर्चको बिल भर्पाइ तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सम्बन्धित राजनीतिक दलले सक्कल बिल भर्पाइ तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने आचारसंहिताको मस्यौदामा उल्लेख छ ।
 

विशेष