प्रचण्डलाई मन्त्री रायामाझीको काउण्टर– ३३ वर्षे मनोनीत अध्यक्षले कुप्रचार गरे
ऊर्जामन्त्री एवं नेकपा ओली पक्षका नेता टोपबहादुर रायमाझीले अन्य केहि सिप नलागेपछि प्रचण्डले भ्रमको खेती गर्न थालेको वताएका छन् । आफू र बादललाई ओली समूहबाट आउन लागेको कुप्रचार गरेर प्रचण्डले भ्रमको खेती गरेको उनले वताए ।
काठमाण्डौमा प्रचण्ड–माधव समुहले बुधबार आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै दाहालले ओली समुहवाट आफ्नो समूहमा फर्कनेको लिस्ट लामो भएको र त्यसमा दुई जना मन्त्री समेत रहेको वताएका थिए । ‘फर्कने मन्त्री पनि म सँग वार्ता गरिरहेका छन्। केपी जी तिर गएका मान्छेहरू फर्कने लाम लागेको छ’ उनले भनेका थिए–‘लामो लिस्ट भन्न सक्छु। अरू त अरू उहाँले मन्त्री बनाएका दुई जना मन्त्री पनि यता फर्कन म सँग वार्ता गर्दैछन्।’
प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रचण्डको उक्त भनाई कुप्रचार मात्रै भएको वताए ।
जनमतबाट पत्तासाफ हुने डरले प्रचण्ड र माधव नेपाल चुनावमा जान डराएको टिप्पणी गरेका उनले नेपाली कांग्रेस र मधेसकेन्द्रित दलहरू चुनावका लागि तयार हुँदा सधैभर नागरिकलाई त्रास देखाएर सत्तामा जानेहरू चुनावबाट डराएको उनको भनाई छ ।
कानुनी सर्वोच्चता कायम राख्न, अहिलेको संरचनालाई जोगाईराख्न र राष्ट्रलाई बचाई राख्न जनमतमा जाने उचित निर्णय भएको दाबी गरेका उनले संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गरिरहेको पार्टीप्रति संकेत गर्दै आफ्नो गल्ती स्वीकार्दै जनमतमा जाने निर्णय स्वीकार गर्न आग्रह गरे ।
नेकपाको अन्तरविरोध कुनै विचार र नागरिकका मुद्दासँग नभई सीमित व्यक्तिको पदप्रतिष्ठासँग जोडिएको विषय भएको वताउँदै उनले प्रचण्डले ३३ वर्षसम्म मनोनीत अध्यक्ष भएर पार्टी चलाएको आरोप लगाए ।