News

कुटपिटका कारण विद्यार्थीको मृत्यु, एक कर्मचारी पक्राउ

कुटपिटका कारण विद्यार्थीको मृत्यु, एक कर्मचारी पक्राउ

विद्यालयका कर्मचारीको कुटपिटका कारण विद्यार्थीको मृत्यु भएपछि झापाको कनकाई नगरपालिका–६ स्थित चम्पापुर माध्यमिक विद्यालयका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यालयका खरिदार रविन मगरको कुटाइबाट १० वर्षीय विद्यार्थी कृष्णप्रसाद राजवंशीको २८ माघमा मृत्यु भएको थियो। राजवंशीको मृत्यु भएपछि परिवारजनले विद्यालय र कर्मचारी मगरविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिले मगरलाई नियन्त्रणमा लिएको हो ।

विद्यालयमा शिक्षक नभएका बेला माघ १८ गते कक्षा ४ मा पढाउन पसेका कर्मचारी मगरले विद्यार्थी राजवंशीको कान तान्दै सजाय दिएका थिए। त्यसपछि बिरामी परेका राजवंशीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको उनका आफन्तले वताएका छन् । 

स्थानीय मेडिकलबाट सामान्य उपचारपछि उनलाई घर लगिएको थियो । सोहि क्रममा सोधपुछ गर्दा वालकले सरले कुटेको वताएका थिए । उनी झनझन बिरामी पर्न थालेपछि उपचारका लागि विर्तासिटी हस्पिटल बिर्तामोड लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विएण्डसी अस्पताल लगियो। त्यहाँ ६ दिन राख्दा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगियो। माघ २८ गते नोबेल अस्पतालमा वालकको मृत्यु भएको जनाईएको छ ।

कुटपिटबाट बालकको मृत्यु भएको भन्दै उनका परिवारजनले उचित क्षतिपूर्तिको माग गरेका छन्। कर्मचारी मगरलाई कक्षा कोठामा गएर पढाउने अधिकार नभएको भन्दै उनलाई कडा कानुनी कारबाही हुनुपर्ने मृतकका दाजु सन्दीप राजवंशीले माग गरेका छन्।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाका अनुसार कर्मचारीले सामान्य कान ताने पनि बालकको पुरानै रोग निमोनियाका कारण मृत्यु भएको हुन सक्ने बताएका छन्।

विशेष