News राजनीति

प्रचण्डकै कारण ‘जनयुद्ध’ को पत्तासाफ, यसकारण आयोजना हुन सकेन ‘जनयुद्ध दिवस’

प्रचण्डकै कारण ‘जनयुद्ध’ को पत्तासाफ, यसकारण आयोजना हुन सकेन ‘जनयुद्ध दिवस’

नेकपा प्रचण्ड–माधव समुहले फागुन १ गते शनिवार जनयुद्ध दिवस मनाएको छ। तर, केन्द्रीय कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसलाई इतिहाँसमै पहिलो पटक ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ का रुपमा मनाईएको छ।

प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन माओवादी पार्टीले हरेक वर्ष फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने गरेको थियो । तर, नेकपा एमालेसँगको एकीकरणपछि नेकपाले यो दिवस मनाउन छाडेको थियो।

एकीकरणपछिको पहिलो वर्ष ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको थियो तर धेरैले चासो राखेको उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको सहभागिता थिएन।

पार्टी विभक्त भएपछि शनिवारको कार्यक्रममा पनि अर्का अध्यक्ष माधवकुमार नेपाल सहभागि भएनन् । पार्टी एक छँदा ओलीले प्राथमिकता नदिने गरेको फागनु १ को कार्यक्रमलाई यस वर्ष नेता नेपालको पनि प्राथमिकता दिएको देखिएन।

उनी राजधानीबाहिर भएकाले सहभागी नभएको नेता रघुजी पन्तले जानकारी दिए। पन्तका अनुसार एकीकरणपछि मनाउन थालिएको कार्यक्रमलाई ‘शहीद स्मृति दिवस’को रूपमा निरन्तरता दिइएको हो।

तर पूर्वमाओवादीका एक नेताका भनाइमा आफ्नै दलका अध्यक्षको नेतृत्वमा भएको सशस्त्र विद्रोहलाई समेत सम्झिने गरिएको पूर्वनिर्धारित कार्यक्रम थाहा हुँदाहुँदै अध्यक्ष नेपाल राजधानीबाहिर जाँदा त्यसलाई महत्व नदिइएको सन्देश गएको छ।

कार्यक्रममा ‘जनयुद्ध’ भन्ने शब्द नै हटाइएपछि के प्रचण्ड नेतृत्वको दलभित्रै पूर्वमाओवादीहरूले भन्ने गरेको ‘जनयुद्ध दिवस’ को स्थायी अन्त्य भएको हो त? भन्ने प्रश्नहरु उठ्न थालेका छन् ।

कार्यक्रममा सहभागी नेता हरिबोल गजुरेलले भने, ‘त्यस्तो होइन, अहिलेको विशिष्ट स्थितिमा संयुक्त आन्दोलनको वातावरण बनाउन मद्दत गरोस् भनेर सबैलाई समेट्नुपर्ने आवश्यकता ख्याल गरेरै नयाँ मोडेलमा लग्न खोजेको हो। जनयुद्ध इतिहास हो, त्यो इतिहास रहिरहन्छ।’

कतिपयले पूर्वएमालेको असहमतिका कारण प्रचण्ड पक्षको नेकपाले ‘जनयुद्ध दिवस’ मनाउन नसकेको ठानेका छन्।

नेपाल निकटस्थ नेता पन्तले भने, ‘अप्ठ्यारो वा नअप्ठ्यारो होइन, एकीकरणपछि जे गरियो त्यसैलाई निरन्तरता दिइयो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रचण्ड नेतृत्वको सशस्त्र विद्रोहमा मारिएका र घाइते भएकाहरूप्रति सहानुभूति प्रकट गरेका छन्। उनले बुटवलमा आयोजित सभामा बोल्दै ‘प्रचण्डले उचालेर, झूटा सपना बाँडेर कतिलाई मराएको, अङ्गभङ्ग गराएको, विधवा र टुहुराटुहुरी बनाएको’ आरोप लगाए।

प्रचण्डले जनवाद, क्रान्ति र सुखका दिनको सपना देखाएको उनको आरोप थियो। उनले घाइते, लडाकु र सबै पक्षका पीडितहरूलाई सम्मान गर्ने बताए।
बीबीसीको सहयोगमा

विशेष