प्रचण्डले सर्वसाधरणलाई झुक्याएर सत्तामा जाने भर्याङ बनाए : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त, भागरथी भट्टका बलात्कार र हत्यामा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
आफु नेतृत्वको नेकपा लुम्बिनी प्रदेशद्वारा शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गदै उनले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानी मुनी गए पनि नछोडिने र सजाय पनि कम नहुने बताए । ढिलै भए पनि सबै घटनाका दोषी÷अपराधीलाई सरकारले पक्राउ गर्ने उनले आवश्वासन दिए ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सूर्य चिह्नबाहेक अरु चिह्नबाट नलडेको र आफूहरुले नै दर्ता गराएको भएकाले सूर्य चिह्न कसको भन्नेमा विवाद गर्नु नपर्ने दाबी गरे । २०४७ सालपछि निर्वाचन आयोगमा सूर्य चिह्न दर्ता गराउने आफूहरु नै भएको र प्रचण्डले जीवनमा एकपटक पनि सूर्य चिह्नबाट चुनाव नलडेको भन्दै उनले कुन आधिकारिक भन्ने छलफल गरिरहनुपर्ने विषय नभएको बताए ।
प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको पनि उनले वताए । संविधानसम्मत र विशेषाधिकार प्रयोग गरेर आफूले प्रतिनिधिसभा विघटन गरेको बताए । आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षड्यन्त्र हुन थालेपछि आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको उनले स्पष्ट पारे ।
अदालतलाई दबाब दिने अनेक प्रकारका काम भएको भन्दै उनले अदालतले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छैन भन्ने विश्वास आफूले लिएको बताए ।
प्रचण्डले विगतमा सर्वसाधरणलाई अनेक सपना देखाएर, झुक्याएर सत्तामा जाने भर्याङ बनाएको भन्दै उनले आफूलाई लोकप्रिय छौँ भन्नेहरुले चुनावमा जान किन डराएको ? भन्दै प्रश्न गरे ।
कसैलाई आफू लोकप्रिय छौँ भन्ने लाग्छ भने जनमतमा आउन उनले आग्रह गरे। ‘माछे हेर्ने मात्रै किन ? गनौँला नि । बाकसबाट मतपत्रै निकालेर गनौँला नि । कसको समर्थनमा कति भन्ने ?’ उनले भने–‘किन आत्तिनुभएको चुनावबाट ?’