प्रचण्डलाई मन्त्री रायामाझीको प्रश्न–नक्कली लडाकुको नाममा लिएको १९ अर्ब कहाँ गयो ?
ऊर्जामन्त्री एवं नेकपा ओली पक्षका नेता टोपबहादुर रायमाझीले ३३ वर्ष पार्टीको नेतृत्व र दुई पटक प्रधानमन्त्री भएर देशको नेतृत्व गरेका प्रचण्डले जनयुद्ध लडेका योद्धाहरूको कुनै माग सम्बोधन नगरेको आरोप लगाएका छन् ।
वुटवलमा आयोजित पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै रायामाझीले लडाकुको सम्मान तथा ब्यवस्थापन पनि प्रधानमन्त्री केपी ओलीले गर्ने अवस्था आएको बताए । आफूहरुको आग्रह अनुसार सरकारले जनयुद्धका लडाकुहरुको लागि सम्मान र राहत प्याकेज ल्याएको तथा उच्चस्तरीय समिति बनाएको उनले बताए ।
प्रचण्डले तत्कालिन लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया हिनामिना गरेको पनि आरोप लगाए । शान्ति प्रक्रियामा आइसकेपछि वाइसिएलमा रहेकाहरुलाई पनि जम्मा गरेर १९ हजारलाई क्यान्टोनमेन्टमा राखि ३४ हजार जनाको संख्या देखाइएको र त्यसै अनुसारको रकम वुझिएको उनको भनाई छ । ‘त्यसको हिसाब बाबुराम भट्टराईले राख्नुभएको छ’ सात÷आठ वर्षको सो रकम १९ अर्ब हुने भन्दै उनले भने–‘त्यो पैसा कहाँ गयो ?’
वाइसिएलका नाममा लिएको थप रकम समेत प्रचण्डले नदेखाएको रायामाझीले वताए।