उदयपुरमा पतिको हत्या, वेहोस फेला परेकी पत्निको अवस्था गम्भिर
उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हत्याको भएको आशङ्का गरिएका मृत पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई हुन्।
घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए। यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए।
प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ।
केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ।
(रासस)