News राजनीति

प्रतिनिधि सभा पुनर्स्थापना भए यस्ता कदम चाल्न सक्छन् प्रधानमन्त्री

प्रतिनिधि सभा पुनर्स्थापना भए यस्ता कदम चाल्न सक्छन् प्रधानमन्त्री

सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको रिटाउपर बहस सकिने बेला फैसलाको अनुमान गर्न थालिएको छ । फैसलाको अनुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको ‘पोजिशन’ बारे पनि चर्चा हुन थालेको छ । प्रतिनिधिसभा विघटन र बैशाखमा आमनिर्वाचन गर्ने प्रस्ताव बदर भएको अवस्थामा प्रधानमन्त्रीले तत्काल कुर्सी र बालुवाटार छोड्नुपर्ने हुन्छ । अहिलेको शान,शौकत र पावर सबै भुस हुन्छ । त्यसैले ‘इतर’ फैसला आएको अवस्थामा पनि प्रधानमन्त्रीले अहिलेको पोजिशनलाई कायम राख्ने खेल शुरु भइसकेको बताइन्छ ।

प्रधानमन्त्रीले सोचेभन्दा फरक ढंगको फैसला आउँदाको अवस्थामा राजनीतिक खेल कसरी अघि बढ्ला ? भनेर सोधिएको जिज्ञासामा बालुवाटार निकट एकजना राजनीतिक विश्लेषक भन्छन् ‘ अहिलेको पोजिशन नछाड्नको लागि उहाँले सबैभन्दा पहिले जति पनि खर्चेर संसदीय दलमा बहुमत देखाउन प्रयास गर्नुहुन्छ । त्यसपछि,हाउसमा बहुमत देखाउन काँग्रेससँग मिल्नुहुन्छ ।’ उनको तर्क छ अदालतले अन्यथा फैसला गरेको अवस्थामा पनि आफूलाई सुरक्षित राख्ने उपायअनुरूप नै प्रधानमन्त्रीले पुस ५ गतेदेखि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर दिँदै आउनुभएको हो ।

काँग्रेसको देउवाविरोधी समूहले भारतीयलाई साक्षी राखेर सभापतिसँग एक किसिमको सम्झौता पहिले नै भइसकेको आरोप लगाउँदै आएको छ । अहिले देखिएको देउवाको भूमिका त्यसैको निरन्तरता हो भनिन्छ । यसबीच देउवाले आफूलाई नेकपाको दुवैतिरबाट प्रधानमन्त्रीको अफर आएको बताइसकेका छन् । तर,हरेक पटक बालुवाटार पुग्दा मसक्क आँटेको जवाफ दिने सभापति देउवाले नेकपाको अर्को पक्षसँगको भेटमा भने सल्लाह गरौंला भन्ने गरेका छन् ।

अदालतले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन र निर्वाचन गराउने प्रस्ताव सदर गरेमा पनि राजनीति सबैले सोचेझैँ सोझो मार्गबाट नहिँड्ने विश्लेषण गर्न थालिएको छ । त्यस्तो अवस्थामा बैशाखमा मात्रै होइन आगामी धेरै वटा बैशाखमा चुनाव नहुनसक्ने अवस्थाको सिर्जना गरिनेछ । विशेषगरी प्रजातन्त्र र निर्वाचनको दुहाई दिएर एकाध छिमेकी र एकाध टाढाका विदेशीसँग मिली झन् निरंकुशतातर्फ जाने सम्भावना प्रबल छ । स्रोत भन्छ ‘त्यस्तो अवस्थामा उहाँले के के गर्नुहुन्छ भनेर अहिले नै भन्न सकिँदैन ।’

प्रतिनिधिसभातर्फ नेकपाको संसदीय दलमा प्रधानमन्त्री ओली स्पष्ट अल्पमतमा हुनुहुन्छ । संसद पुनर्स्थापना हुँदा उहाँको पक्षमा रहेको सांसद संख्या अझै घट्ने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा परिस्थिति आफ्नो पक्षमा पार्न नसोचेको रकम लगानी गर्न खोजिने छ । त्यसको लागि आवश्यक माहौल बनाउँदै लगिएको केही संकेत देखिएका छन् । नयाँ जलविद्युत परियोजनाहरूलाई त्यसको स्रोतको रूपमा प्रयोग गरिएका खबर यसअघि नै बाहिरिएका छन् । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र लगानी बोर्डका प्रमुख कार्यकारी सुशील भट्टहरूले नयाँ ‘मुन्सी’ को भूमिका निभाएका छैनन् भनेर कसैले पनि दाबी गर्न नसक्ने उच्च स्रोतको दाबी छ ।

यता,भारतीय राजदूत विनयमोहन क्वात्राको दौडधुपलाई अनौठो मान्नेहरु पनि छन् । सर्वोच्चको फैसला आउने बेलामा भएको दौडलाई एकथरिले अर्कै अर्थ लगाएका छन् । उनी आरएसएसका मान्छे भएकाले यो बेला प्रधानमन्त्रीको मुखारविन्दुबाट नेपाललाई ‘हिन्दू राष्ट्र’ घोषणा गराउने वचन ओकल्न लगाउन अनेक प्रयास भएको बताइएको छ । किनकि माघ २३ गते नारायणहिटी दरबारको पटांगिनीमा आयोजित आमसभा त्यसैको लागि गरिएको थियो । एकाएक भित्री माहौल बिग्रेपछि त्यो दिनदेखि प्रधानमन्त्री नसोचेको ढंगले पछि हट्नुभएको हो ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

विशेष