News राजनीति प्रदेश २

प्रदेश २ सरकारका तीन वर्षः ६९०६ जना छोरीको विमादेखि १४ हजार साइकल वितरणसम्म

प्रदेश २ सरकारका तीन वर्षः ६९०६ जना छोरीको विमादेखि १४ हजार साइकल वितरणसम्म

जनकपुरः प्रदेश २ सरकारले तीन वर्षको अवधिमा ६ हजार ९ सय ६ जना छोरीलाई बीस वर्षपछि ३ लाख पाउने गरी छोरी बिमा/मुद्धती खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको र २६ हजार ९ सय ५६ जना छोरीको तथ्याङ्क संकलन गरिएको जनाएको छ ।

प्रदेश सरकार गठन भएको तीन वर्ष पुगेकोे अवसरमा मुख्यमन्त्री लालवावु राउतले सोमवार पत्रकार सम्मेलन गरी आफ्नो उपलब्धि सार्वजनिक गरेका हुन्।

छोरीलाई विद्यालयमा पहुँच पुर्याउन र प्रोत्साहित गर्ने उद्देश्यले २ सय ४१ ओटा सामुदायिक विद्यालयमा १४ हजार साइकल वितरण गरिएको र थप २० हजार साइकल वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ । 

यसैगरी, संविधानले प्रदान गरेको प्रदेशको अधिकारलाई संस्थागत गर्दै प्रदेशको समग्र विकासका लागि सागरनाथ वन, सिँचाइ, प्रहरी समायोजन, कर्मचारी समायोजन लगायतका छ वटा विषयमा संघीय सरकार विरुद्ध मुद्दा दायर गरिएको विषयलाई पनि प्रदेश सरकारले आफनो उपलब्धिमा समावेश गरेको छ । 

‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत धार्मिक पर्यटनलाई बढावा दिन जानकी मन्दिर, रौजा मजार, छिन्नमस्ता भगवती, सहलेश स्थान, पारशनाथ, भिसवा बौद्ध गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडि बढाईएको र यस अभियान अन्तर्गत २७ वटा पोखरी एवम् सार्वजनिकर पर्यटकीय र धार्मिक स्थलहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य सुरु भएको जनाईएको छ। 

मधेश आन्दोलनका २७ जना शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको, आन्दोलनका क्रममा घाइते व्यक्ति तथा पीडित परिवारलाई राहत उपलब्ध गराईएको, हाल सम्म ३९ वटा विधेयक प्रमाणित भई कार्यान्वयनमा आएको र २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहेको छ ।

प्रदेश सरकारले सबै प्रदेश सभा (६४ वटा) निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर सडक निर्माण गरी कुल ३२० किलोमिटर पक्की सडक निर्माण गर्ने कार्यको थालनी गरेको, ५०.९५ किलोमिटर कालोपत्रे सडक निर्माण, ७४.९० किलोमिटर पक्की सडक ढलान, १ सय ७०.१७ किलोमिटर ग्राभेल सडक निर्माण, ५ सय ५४ किलोमिटर नाला निर्माण, १४ वटा कल्भर्ट निर्माण, ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माण गरेको मुख्यमन्त्री राउतले जानकारी दिए ।

विशेष