News

नेपाल टेलिकमले सुरु गर्यो ‘एनटी च्याटबोट’ सेवा

नेपाल टेलिकमले सुरु गर्यो ‘एनटी च्याटबोट’ सेवा

नेपाल टेलिकमले गत माघ २२ गतेदेखि १७औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा सञ्चालनमा ल्याएको छ ।

विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी लिन सकिने यो सेवाको वारेमा कम्पनीको वेबसाइट डब्लुडब्लुडब्लु डट एनटिसी डट एनइटी डट एनपी खोल्नासाथ शुुरु पेजमा स्वचालित स्क्रिन देखिन्छ।

त्यहाँ ‘निड हेल्प ? वेलकम टु एनटी च्याटबोट’ भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली÷अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने कंपनीले जनाएको छ ।

यो सेवा मार्फत कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र गुनासो समेत गर्न सकिन्छ । गुनासोको सम्बोधन च्याटबोट मार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग÷पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने जनाईएको छ ।

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु facebook, twitter, viber community, instagram प्रयोग गर्न सक्दछन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सकिने जनाईएको छ । 

नेपाल टेलिकम एनटी च्याटबोट

विशेष