मिक्लाजुङका शिक्षक हत्या आरोपी हातहतियार तथा खरखजना मुद्दामा कारागार चलान

मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका विप्लव नेतृत्वको नेकपाका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक अर्कै मुद्दामा कारागार चलान भएका छन् । उनलाई हातहतियार तथा खरखजना मुद्दामा पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।
हतियारसहित बुढीगंगा गाउँपालिका– ४ बाट माघ ७ गते उनी पक्राउ परेका थिए । जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार हातहतियार तथा खरखजना मुद्दामा कारागार चलानको आदेश दिएपछि उनी कारागार चलान भएका हुन् । सोमबार दर्ता भएको अपहरण र कर्तब्य ज्यान मुद्दामा आइतबार बयान लिने अदालतको तयारी छ ।
संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विक व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका विकको साथबाट एउटा सेमि अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइलहरु, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो ।
पक्राउ पछि सोधपुछ गर्दा मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पनि उनको संलग्नता देखिएको प्रहरीको दाबी छ । विकविरुद्ध प्रहरीले हातहतियार खरखजना, अपहरण र कर्तव्य ज्यानसम्बन्धी छुट्टा छुट्टै मुद्दा दर्ता गराएको छ ।
सोमबार अपहरण र कर्तव्य ज्यान मुद्दामा उनीसहित ३५ जना विरुद्ध मुद्दा दर्ता भएको थियो । विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि ‘विप्लव’ समूहले शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको थियो ।
विप्लव जिल्ला अदालत मोरङ मुद्दा शिक्षक हत्या अपहरणपछि हत्या