News अर्थ

भुक्तानीमा समस्या भएपछि उखु उत्पादन घट्यो, चिनी मिललाई ऊखु अभाव

भुक्तानीमा समस्या भएपछि उखु उत्पादन घट्यो, चिनी मिललाई ऊखु अभाव

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि ऊखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा ऊखु आयात नहुँदा मिललाई ऊखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताए।    

विगतका वर्षमा दैनिक ५०/६० हजार क्वीन्टल र कुनै कुनै दिन एक लाख क्वीन्टलसम्म ऊखु क्रसिङ हुने यस मिलमा अहिले ऊखु अभावमा दैनिक १०÷१२ हजार क्वीन्टल मात्रै क्रसिङ हुने गरेको छ । मिलको क्षमताअनुसार ऊखु प्राप्त नहुँदा ऊखु क्रसिङ तथा चिनी उत्पादन हुन नसकेको जनाइको छ । अहिले चिनी मिलका कर्मचारीले नगद रुपैयाँ लिएर महोत्तरी, धनुषा, सर्लाही जिल्लाको गाउँगाउँमा ऊखु खरीद गर्न गए पनि किसानले आवश्यक मात्रामा ऊखु मिललाई प्रदान गरिरहेका छैनन् ।

यता ऊखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेश सिंहले चिनी उद्योगले ऊखु उत्पादकलाई ऊखु लिएबापतको रकम भुक्तानी गर्न दुई/तीन वर्ष लगाउने गरेको, पैसाको लागि आन्दोलन गर्नुपरेको र आफ्नै पैसाका लागि ज्यानसम्म गुमाउनु परेको कारण किसानले पर्याप्त मात्रामा ऊखु उत्पादन नगर्दा मिललाई ऊखु अभाव भएको बताए।

मिललाई उधारोमा ऊखु बिक्री गर्नुको साटो किसानले अहिले गाउँघरमै स्थानीयस्तरमा सख्खर तयार गर्ने क्रसिङ सेन्टरमा नगदमै ऊखु बिक्री गरिरहेको उनले बताए। उनले भने–‘यसवर्ष जिल्लामा ऊखु उत्पादनमा ४० प्रतिशतले कमी आएको छ भने चिनी मिलको रवैया कारण विस्तारै उत्पादनको परिणाम घट्दै जाने निश्चित छ ।” 

कुनैबेला ५८ लाख क्वीन्टल ऊखु क्रसिङ गरेर मुलुककै पहिलो चिनी कारखाना बनेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका यार्ड (ऊखु लिएर आएका गाडी पार्किङ गर्ने ठाउँ) अहिले सुनसान छ भने चिनी मिलले नगदमै पनि ऊखु पाउन नसक्दा मिललाई ऊखुको अभाव सिर्जना भएको हो ।
(रासस)

चिनी मिल ऊखुको अभाव ऊखु उत्पादक कृषक

विशेष