प्रदेश २ मा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन
जनकपुर– प्रदेश सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको छ। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा कार्यालयको उदघाटन गरेका हुन ।
प्रदेश सरकारले आफनो निकै महत्वाकाक्षी योजनाहरुको रुपमा प्रचार गरेको सो प्रतिष्ठनले जनकपुरलाई मेडिकल क्षेत्रको हवको रुपमा विकास गर्ने दावि गरिएको छ । कार्यालय उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको गौरवको योजना रहेकाले यसको विकासको लागि प्रदेश सरकारले हर सम्भव प्रयास गर्ने बताए । उनले स्वास्थ्य क्षेत्रको विकासमा यो एक प्रकारले महत्वपुर्ण खुडकिलो रहेको र यसलाई प्रदेश सरकारले स्थापना गरेर ती खुडकिला पार गरेको बताए ।
प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा आफुहरुको प्रमुखताका साथ ध्यान गएको पनि उनको जिकिर छ । उनले मधेसका विभिन्न जिल्लाहरुमा स्वास्थ्य अवस्था निकै कमजोर रहेको चर्चा गर्दै प्रतिष्ठनले उत्पादन गर्ने जनशक्ति र स्वास्थ्य क्षेत्रमा गर्ने अनुसन्धानले यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार ल्याउन निकै ठुलो मदत पुग्ने बताए ।
‘सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने वर्षौं पुरानो अकांक्षा अब पूरा हुने छ । यो हाम्रो शुरुवात मात्रै हो, विस्तारै यहीँ पनि एमबीबीएस, एमडी लगायतको पढाई हुने छ’– उनले भने ।
सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको बताए । उनले प्रतिष्ठानको स्थापनाले प्रदेशका अस्पतालहरुमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुनु लगायतको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।
प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले प्रदेश २ मा स्वास्थ्य क्षेत्रको अवस्था दयनीय भएको बताउँदै सेवाको स्तर सुधारको लागि हरसम्भव प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सरकारले माघ १८ गते मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानको उपकुलपतिमा डा.राम केवल साह, रजिस्टारमा डा.विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरेको थियो ।
प्रदेश २ को प्रदेशसभाबाट कार्तिक २ गते पारित भई आएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख तिलक परियारले गत कार्तिक २५ गते प्रमाणिकरण गरेका थिए ।