News

बाजे वकिललाई लगेर अदालतमा तमासाः यस्तो छ प्रम ओलीको प्रतिक्रिया

बाजे वकिललाई लगेर अदालतमा तमासाः यस्तो छ प्रम ओलीको प्रतिक्रिया

प्रधानमन्त्री केपी शर्मा ओली आफुवाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी भएको सर्वोच्च अदालतलाई जवाफ दिएका छन् ।

अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएपछि विहिवार त्यसको जवाफ दिदै प्रम ओलीले यस्तो वताएका ह्न ।

सर्वोच्च अदालत पुगेर अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिएका उनले अदालतप्रति आफ्नो उच्च  सम्मान रहेको उल्लेख गर्दै न्याय सम्पादनका क्रममा हुने काम कारबाहीमा कुनै अवरोध नगरेको बताएका छन् ।

उनले अदालतबाट भएका फैसला तथा आदेशको आफू र आफू नेतृत्वको सरकारबाट सदैव पालना र कार्यान्वयन भएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका वकिलहरूलाई अपमान नगरेको पनि प्रस्ट पारेका छन् ।

‘मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु नत कुनै कानुन व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु । मैले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको छु’ उनले भनेका छन्–‘प्रस्तुत मुद्दाको कुनै प्रयोजन नदेखिँदा मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ ।’

प्रधानमन्त्री ओलीले माघ ९ गते आयोजित एउटा कार्यक्रममा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै ’बाजे वकिललाई लगेर अदालतमा तमासा देखाइरहेको’ अभिव्यक्ति दिएका थिए ।

त्यसपछि अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना बाजे वकिल अदालतमा तमासा

विशेष