News विदेश

म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि एक वर्षको संकटकाल

म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि एक वर्षको संकटकाल

म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो।

नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ।

सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।

शासन सत्ता हातमा लिएका सेना प्रमुख मिन ओङ ह्लाइङ यसअघि सन् २०१७ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका थिए

सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो।

गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो।

सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ। सोही क्रममा सोमवार सु ची पक्राउ परेकी हुन । नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक सोमवार (आज) बस्ने योजना थियो।

तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो। राजधानी र मुख्य सहर यान्गुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन्।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो।

पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचारसंस्थालाई फोनमार्फत् जानकारी दिँदै सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै ‘लगिएको’ बताएका छन्।

राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ। सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।

सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो।
बीबीसीको सहयोगमा

विशेष