News अपराध सुरक्षा

भागरथी भट्टको शव आफन्तले बुझे, दाहसंस्कारको तयारी

भागरथी भट्टको शव आफन्तले बुझे, दाहसंस्कारको तयारी

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको शव आफन्तले बुझेका छन्। 

मृत्यु भएको १७ औँ दिनमा भागरथीको दाहसंस्कार गर्न लागिएको हो । जिल्ला अस्पताल बैतडीमा राखिएको भागरथीको शव आफन्तले बुझेका हुन्। अबको केही समयपछि भागरथीको सेरास्थित महाकाली आर्यघाटमा दाहसंस्कार गरिनेछ।

जिल्ला अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मृतक भागरथीका परिवारलाई राहतका लागि स्थानीय र प्रदेश सरकारसँग अनुरोध गर्ने बताएका छन्। यसअघि प्रदेश सरकारले भट्ट परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ।

एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा उनकै छिमेकी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।

उनले भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिएको बयान प्रहरीसमक्ष दिएका छन्। वलात्कार भने आफुले नगरेको उनको वयान छ। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको थियो। गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। 

भागरथीका दुई दिदी र एकजना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका मृतकका दाइ केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारत गएका थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाको किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।

बलात्कारपछि हत्या भागरथी भट्ट दाहसंस्कार परिवारलाई राहत प्रहरी अनुसन्धान

विशेष