News समाज

वृद्धाश्रमलाई आर्थिक अभाव, आमाहरुलाई उधारो दुध !

वृद्धाश्रमलाई आर्थिक अभाव, आमाहरुलाई उधारो दुध !

जनकपुर– धनुषाको सबैला नगरपालिकाकी पानोदेवी गुप्ता छोरावुहारीको अपेहलनाका कारण लामो समयदेखि जनकपुरको जानकी बृद्धाश्रममा वसेकी छिन् । उनलाई फेरी आफ्नो घर फर्केर जान मन छैन । सन्तानकै अपहेलना सहन नसकेर पहिलो पटक उनी वृद्धाश्रममा सरण लिन पुगेकी थिईन । घर छोडेको धेरै पछि नातिको बिहेमा समाजको दवाबमा परेर छोराले घर लिएर गएपनि केहि समयपपछि नै छोराबुहारीको अपहेलना सहन नसकेर पुनः बृद्धाश्रम पुगिन। 

कुलिन घरानाकी पानोदेवीका सन्तानको आयआर्जन पनि राम्रो छ । तर, सधैंको तनाव सहुन परेपछि परिवारले घर फर्कन आग्रह गर्दा समेत पछिल्लो समय उनी फर्किन मानेकी छैनन् ।

जनकपुरमा संचालित जानकी वृद्धाश्रममा उनी जस्ता धेरै ज्येष्ठ नागरिकको पालनपोषण हुँदै आएको छ । सरकारको आर्थिक सहयोगमा उनीहरुको रेखदेख तथा पौष्टिक आहारको ब्यवस्थापन हुने गरेपनि पछिल्लो एक वर्षदेखि भने आश्रममा समस्या सुरु भएको छ । लगातार प्राप्त हुँदै आएको सरकारी सहयोग रोकिएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई आहाराको समस्या परेको छ ।

संघीय सरकार अन्तर्गत रहेको आश्रम प्रदेश सरकार अन्तर्गत आएदेखि नै आर्थिक अभाव सुरु भएको हो । आर्थिक अभाव भएपछि आश्रम संचालन गर्न कठिन भएको सञ्चालकहरुले वताएका छन् । दाताहरुको सहयोगमा घर भन्दा पनि राम्रो वातारणमा सञ्चालन हुँदै आएको आश्रममा यतिवेला भने समस्या सुरु भएको उनीहरु वताउँछन्।

दुई दशकभन्दा पनि पुरानो इतिहास बोकेको जानकी वृद्धाश्रम सञ्चालन गर्न राज्यले चासो नदिँदा दाताको भरमा निर्भर हुनुपरेको सञ्चालकले गुनासो गरे । जनकपुरधाम उपमहानगरपालिका ८ स्थित जानकी वृद्धाश्रम प्रदेश सरकार गठन भए लगत्तै प्रदेश सरकार मातहत ल्याईएको थियो ।

तर, अहिले आएर प्रदेश सरकार र स्थानिय तह समेतले वेवास्ता गरेपछि आधारभुत आवश्यक्ता पुर्ति गर्न समेत समस्या भएको संचालिका सीता अधिकारीले वताइन।

अश्रमका ६ जना कर्मचारीले समेत गत एक वर्षको तलब पाएका छैनन् । गत चैत महिनादेखिको दूध, ग्यास, तरकारी, औषधी आदिको उधारो रकम समेत तिर्न बाँकी नै रहेको अधिकारीले जानकारी दिईन। ‘पहिला–पहिला संघीय सरकारबाटै बृद्धाश्रम संचालनका लागि रकम आउँथ्यो तर प्रदेश सरकार मातहत आएपछि उधारोको चाँङ लागेको छ’ उनले भनिन्– ‘कहिलेसम्म उधारोमा बृद्धाश्रम चलाउनु पर्ने हो, ठेगान छैन।’

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले जानकी बृद्धाश्रम संचालनका लागि आफूहरु तत्पर रहेको वताउँदै बृद्धाश्रमका लागि २० लाख रुपैयाँ चालु आर्थिक वर्षमा बजेट छुट्याएको वताए । तर त्यो बजेट बृद्धाश्रमको माथिल्लो तल्ला थप्नका लागि प्रयोग हुने उनले जानकारी दिए । बृद्धाश्रम संचालनका लागि आफूहरुले गम्भिरता देखाउने मन्त्री साहको भनाई छ ।
 

आर्थिक अभाव पानोदेवी गुप्ता छोरावुहारीको अपेहलना जानकी वृद्धाश्रम

विशेष