News स्वास्थ्य प्रदेश २

प्रदेश २ मा कोरोना खोपको दुरुपयोगः मन्त्रीले सुरु गरे, सुनचाँदी ब्यसायीसम्मले लगाए

वीरेन्द्र रमण

प्रदेश २ मा कोरोना खोपको दुरुपयोगः मन्त्रीले सुरु गरे, सुनचाँदी ब्यसायीसम्मले लगाए

जनकपुर– भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप प्रथम चरणमा फ्रन्ट लाईनमा काम गर्नेलाई लगाउने निर्देशिका विपरित प्रदेश–२ मा दुरुपयोग भएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रथम चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थामा खटिने व्यक्ति र सफाईकर्मीलाई खोप लगाउने दिने निर्देशिका बनाएको छ । तर, प्रदेश २ का अधिकांस ठाउँमा  निर्देशिका विपरित मापदण्ड वाहिरका ब्यक्तिलाई धमाधम खोप लगाउन सुरु गरिएको छ ।

हुन त प्रदेश २ मा खोप अभियानको सुरुवात नै एक जना मन्त्रीले खोप लगाएर गरेका थिए । यस अर्थमा मापदण्ड पुरा नहुनुलाई सामान्य रुपमा लिन सकिएला । तर, सरकारको निर्देशिका उलंघन गर्दै जाने र स्वास्थ्यकर्मी, सरसफाईकर्मीले खोप लगाउन नपाउने अवस्था आयो भने त्यसपछिको अवस्था के होला ? भन्ने प्रश्न पनि उठ्न थालेको नागरिक समाजका ब्यक्तिहरु वताउँछन् ।

जानकारी अनुसार जनकपुरमा ब्यवसायीलाई समेत कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ। सुनचाँदी व्यवसायी पवन ठाकुर र वलराम साहले खोप लगाएपछि यसको रहस्य वाहिर आएको हो । उनिहरुले खोप लगाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । ठाकुरले आफु जानकी वृद्धाश्रमको उपाध्यक्ष रहेको र भिडभाडमा जानुपर्ने भएकाले खोप लगाएको वताए ।

सो संस्थाका ११ जनै पदाधिकारीले कोरोना विरुद्धको खोप लगाएका छन् । यसैगरी, अर्का सुनचाँदी व्यवसायी बलराम साहले जिल्ला स्वास्थ्य कार्यालयको खोप केन्द्रबाट खोप लगाएका हुन्।
 
सरकारले पहिलो चरणमा मापदण्ड वाहिरकाका कसैलाई पनि खोप लगाउने नीति वनाएको छैन । तर, प्रदेश–२ को जनकपुरमा आयोजना गरिएको खोप सुभारम्भ कार्यक्रम नै निर्देशिका विपरित गरिएको थियो । पहिलो खोप आन्तरिक मामिला तथा कानुन मन्त्रीले लगाए । यति मात्र होईन, कतिपय जिल्लामा नेताहरुले समेत खोप लगाएका छन । सिरहामा संचारकर्मीहरुले पनि खोप लगाए। 

प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशक विजयकुमार झाले आफु निर्देशिकामा अनुसार नै खोप वितरण होस भन्ने तर्फ लागेपनि कतिपय जिल्लामा यसको दुरुपयोग भईरहेको वताए । त्यसको जानकारी आएपछि फिल्डमा जाने कर्मचारीहरुलाई पटक–पटक सम्झाएर पठाउने गरेको र कतिपय कर्मचारीलाई कारवाहीको लागि समेत भनेको जानकारी दिए ।

उनले ढिलो–चाँढो सबैले खोप पाउनेमा विशवस्त हुन आग्रह गर्दै खोपलाई दुरुपयोग हुन नदिन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहयाक प्रवक्ता डा. समिर अधिकारीले लक्षित वर्गका ब्यक्तिहरु खोप लगाउनवाट नछुटुन भनेरै निर्देशिका वनाएईको वताउँदै निर्देशिका भन्दा वाहिर गएर खोप लगाउनु  गलत भएको वताए । ‘फ्रण्ट लाईनमा काम गर्नेलाई सुरक्षित वनाउन सकियो भने मात्र भोलीका दिनमा अरुलाई वचाउन सकिन्छ भनेर निर्देशिका वाईएको हो। हामीले त्यसै अनुसार निर्देशन पनि जारी गरेका  छौं’ उनले भने–‘यदि त्यसो भएको हो भने गलत भएको हो। त्यसो गर्न पाईन्न।’

प्रदेश नम्बर २ मा ४८ प्रतिशतलाई खोप
प्रदेश नम्बर २ मा १६ हजार ६ सय ७० जनालाई खोप लगाइएको छ । ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने लक्ष्य थियो । करिब ४८ प्रतिशतलाई खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशानलयले जनाएको छ ।्

धनुषामा २ हजार ७ सय ९०, महोत्तरीमा १ हजार ५सय २०, सिरहामा १ हजार ८ सय ७२, सर्लाहीमा १ हजार ४ सय ६३, सप्तरीमा २ हजार ३ सय ९५, बारामा १ हजार ४ सय १८, पर्सामा ३ हजार ४ सय ३७, रौतहटमा १ हजार ७ सय ६५ जनालाई खोप लगाइएको निर्देशनालयले जनाएको छ ।
 

विशेष