झन्डै एक अर्ब रुपैयाँ खर्चमा पशुपतिमा राखिएको जलहरी भनेको के हो ? [जानकारीसहित]
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा वुधवार पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ ।
गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो । यसअघिको चाँदीको जहरीललाई प्रतिस्थापन गरी सुनको जलहरी राखिएको हो।
पशुपतिमा सुनको जलहरी स्थापना गर्ने विषयमा निकै विवादमा परेको छ । सुनको जलहरी राख्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट निवेदन पनि दर्ता भएका छन् ।
संस्कृतिविद् तथा कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले चाँदीको जलहरी विस्थापित गरी सुनको जलहरी राख्ने निर्णय ‘असंवैधानिक र दुर्भाग्यपूर्ण’ भएको वताएका छन् । चाँदीको जलहरीलाई सुनको जलहरीले प्रतिस्थापन गर्ने कार्य संविधान, कानुनको मर्म र भावनाविपरीत भएको भन्दै वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले रिट निवेदन दायर गरेका थिए ।
तर प्राचीन स्मारक संरक्षण ऐनका अनुसार ‘स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्व विभागको निरीक्षण, प्राविधिक सेवा तथा निर्देशनमा गुठी संस्थानले गर्नेछ’ भनिएको छ। ‘कुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय हुनसक्ने’ उक्त ऐनमा भनिएको छ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार पशुपतिनाथमा हाल रहेको चाँदीको जलहरी राजा महेन्द्रले २०२५ सालमा राखेका हुन्। त्यसअघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी प्रतिस्थापित गरिएको अभिलेख रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले पशुपतिमा रहेको चाँदीको जलहरीको सट्टा सुनको जलहरी राख्ने प्रतिवद्धता जनाएसँगै यस विषयमा विवाद सुरु भएपछि धरैको मनमा यस सम्वन्धि कौतुहलता पनि सुरु भएको छ। जलहरी भनेको के हो ? भन्ने विषयमा सर्वसाधारणले वुझने प्रयास गरिरहेका छन ।
के हो जलहरी ?
जलहरी भनेको शिवलिङ्ग अडिने र दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जाने आधार हो । चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकोले झन्डै दुई वर्षको गृहकार्यपश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णय भएको जनाईएको छ ।
सुनको जलहरी निर्माण र जलप लगाउन झन्डै एक अर्ब रुपैयाँ लाग्ने अनुमान रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथको दर्शनका बेला ३० करोड रुपैयाँ कोषलाई दिने घोषणा गरेका थिए।
त्यस लगत्तै राष्ट्र ब्याङ्कबाट सुन किनेर पशुपतिनाथ मन्दिर परिसरको रुद्रागारेश्वरमा नेपाली सेनाको सुरक्षाबीच कालिगढहरूले जलहरी निर्माण गरेका थिए ।
जलहरी राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिर विवाद