मुसहर समुदायका बालबालिका शिक्षामा आकर्षित
हरेक दृष्टिकोणले अति पिछडिएको हरवा चरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून संख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको संख्या उत्साहजनकरूपमा बढ्दै गएको पाइएको छ ।
हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टी, वडा नं ३ डङगराही र ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् । सो नगरपालिकाका हरवाचरुवा परिवारका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल कक्षा सञ्चालन गरेपछि विद्यालय जाने बालबालिकाको संख्या बढ्दै गएको हो ।
विगत दुई वर्षदेखि ती वडाहरूबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको संख्या जम्मा १२ थियो तर ‘सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तिकरण कार्यक्रम’ अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको संख्या १४० भन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदा बताउँछन्।
पहिला पहिला हरवाचरवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकूदमै दिन बिताउने गरेका थिए तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन् । अर्जुनले भने–‘केही वर्षअघिसम्म विद्यालयहरूमा हरवाचरवा मुसहर परिवारका बालबालिका न्यून संख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको संख्या बढ्न थालेको छ ।”
केही वर्षअघि सम्म हरवाचरवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला एक त हरवाचरवा परिवारका बालबालिका विद्यालय जान रुचाइरहेका थिएन भने अभिभावकहरू पनि विद्यार्थीलाई विद्यालय पठाउन चाहिरहेका थिएनन् । मोहनपुरका अरहुलिया सदाले भने–‘हाल मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् । अभिभावकहरूमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ । कुनै बेला आफूलाई पढ्न रहर हँुदाहुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्ँिझदै अरहुलियाले थप्छिन–‘अहिले त्यस्तो अवस्था विस्तारै हट्दै गएको छ ।” हरवाचरवा मुसहर परिवारका अभिभावकहरू पनि जिम्मेवार बन्दै गएको उनी सुनाउँछन् ।
हरवाचरवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि शम्भुनाथ नगरपालिका–२, ३ र ५ मा सञ्चालन गरेको निःशुल्क बाल शिक्षा कार्यक्रममा अहिले हरवाचरवा र मुसहर समुदायका १४० जनाभन्दा बढी बालबालिका नियमितरूपमा अध्ययन गर्नका लागि आउने गरेको स्थानीय अभिभावकहरु वताउँछन् । तीमध्ये १०५ जना बालबालिकालाई विभिन्न विद्यालयको पहँुचमा पु¥याई सकिएको उनीहरुको भनाइ छ । विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाका तर्फबाट शैक्षिक सामग्री र स्कूल ब्यागसमेत निःशुल्क उपलब्ध गराएको छ ।
विद्यालयबाहिर रहेका बालबालिकाका लागि हाल तीनजना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौमहिने बाल शिक्षा प्रदान गरिरहेको र क्रमिकरूपमा विद्यालय भर्ना गराउँदै लगेको स्थानीय स्वयम सेवकहरु वताउँछन् ।
शैक्षिकरूपमा जर्जर रहेको हरवाचरवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउने क्रम बढेको भन्दै यस्तो अभियानलाई अझ निरन्तरता दिनुपर्ने शम्भुनाथ नगरपालिका–३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाईं पासवानले बताए।
राससको सहयोगमा