प्रदेश २ : विवादमा प्रदेश प्रमुख, फिर्ता पठाउन मन्त्रीकै माग
वीरेन्द्र रमण
जनकपुर– प्रदेश–२ को प्रदेश प्रमुखका रुपमा राजेश झा (अहिराज) आएदेखि नै प्रदेशमा विवाद सुरु भएको छ । प्रदेश प्रमुखमा झालाई नियुक्त गरेदेखि नै विरोधमा रहेका प्रदेश सरकारमा मन्त्रीहरु अहिले खुलेआम उनी विरुद्ध धारणाहरु सार्वजनिक गर्न थालेका छन् ।
प्रदेश–२ मा तीन वर्षभित्र तीन जना प्रदेश प्रमुख फेरिए। तेश्रो प्रदेश प्रमुखका रुपमा रौतहटका झाले पदभार ग्रहण गरेका छन् । संघीयता बिरोधी भनेर चिनिएका र प्रदेशको आवश्यकता नै नरहेको टिप्पणी गर्दै आएका झाको नियुक्तिपछि प्रदेश प्रमुख र प्रदेश सरकारबीच झनै दुरी बढ्ने देखिएको छ । झाका विरुद्धमा मन्त्रीहरु मोर्चा कसेर लागेका छन् ।
प्रदेश प्रमुख झालाई जनकपुर विमानस्थलमा एक सय १ किलो फुलको माला लगाएर समर्थकले स्वागत गरेपनि मुख्यमन्त्री लालबाबु राउत लगायत ६ जना मन्त्री मध्ये कुनै पनि मन्त्रीको उपस्थिति देखिएन । यस अघिका प्रदेश प्रमुख तिलक परियारको स्वागतका लागि मुख्यमन्त्री राउत आफै विमानस्थल पुगेका थिए । तर, झालाई स्वागत गर्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहलाई पठाईयो ।
प्रदेश प्रमुखको स्वागतका लागि राज्यमन्त्री पठाएर प्रदेश सरकारले औपचारिकता मात्र निर्बाह गरेको जानकारहरु वताउँछन् ।सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रीहरु अनुपस्थित रहेको कारणले स्वागतमा नगएको वताए । प्रदेश प्रमुख झा जनकपुर आपछि मुख्यमन्त्री लालबाबु राउत भेटेर शुभकामना दिएका थिए ।
सर्वोच्च अदालतको संवैधानीक इजलासले संसद पुनःस्थापना गर्ने फैसला गरेपछि झालाई फिर्ता पठाउनुपर्ने तर्क समेत प्रदेश–२ मा सुरु भएको छ । सत्तामा रहेको जसपाका नेताहरुले उनलाई फिर्ता पठाउनु नै सान्दर्भिक हुने बताइएरहेका छन । भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवम् जसपा निकट युवा संगठनका अध्यक्ष योगेन्द्र राय यादवले सामाजिक संजालमा प्रदेश प्रमुख झा अवैधानिक गतिविधिमा लिप्त रहेको आरोप लगाएका छन । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन–‘सर्वोच्च अदालतको फैसलाका मुख्य अंशमध्ये पुस ५ गतेपछिका राजनीतिक नियुक्ति स्वत बदर हुनगएकाले प्रदेश प्रमुख (राजेश झा अहिराज) को अवैधानिक क्रियाकलाप तत्काल रोक्न समाजवादी युवा संघ जोडदार माग गर्दछ। साथै सरकारको कार्यकारी प्रमुखजस्तै मंत्रालयका बहालवाला सचिवलगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको बिरोधमा प्रदेश प्रमुखले निर्देशन जारी गर्नु पनि आपत्तिजनक छ।’
विवादरहित थिएनन् परियार
संघीयता सुरु भए लगत्तै प्रदेश–२ मा पहिलो पटक रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुखको रुपमा आएका थिए । तत्कालिन समाजवादी पार्टीको नेता र पुर्व कर्मचारीबाट आएका कारण उनको सम्वन्ध सरकारसँग सुमधुर नै रह्यो।
त्यसपछि सरकारले उनलाई हटाएर माओवादी पृष्ठभुमिका तिलक परियारलाई प्रदेश प्रमुखको रुपमा पठायो। निकै शालिन रहे पनि सचिवालयका कर्मचारीहरुका कारण परियार निकै आलोचित बन्दै आएका थिए । विशेष गरेर उनका सचिवालयमा रहेका अनिल पासमानको कारणले पटक–पटक परियार विवादमा तानिदै आएका थिए ।
पासमानले सामाजिक संजालमा अनावश्यक टिकाटिप्पणी गर्ने र गलत व्यवहार प्रदर्शन गर्दै आएका थिए । पासमानले तिलक परियारलाई हटाउनु केही दिन पुर्व रेल्वेका महाप्रबन्धक गुरु भटटराईलाई टेलिफोनमै तथानाम गाली गरेका थिए । दुवै जनाले एक अर्कालाई असभ्य र अर्मादित शब्दमा गाली गलौज गरेका थिए । त्यसको अडियो नै बाहिरिएको थियो ।
त्यस लगत्तै सरकारले परियारलाई परिवर्तन गरेर झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
विवाद मुख्यमन्त्री लालबाबु राउत प्रदेश प्रमुख राजेश झा एक सय १ किलोको माला संघीयता बिरोधी