सरकार र विप्लव नेतृत्वको नेकपाबीचको वार्ता अनिश्चित
सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीचको वार्ता अनिश्चित वनेको छ । पुस ५ गते संसद् विघटनपछि सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेका वेला संसद् पुनःस्थापना भएसँगै वार्ताको वातावरण प्रभावित भएको हो।
दुवै पक्ष पर्ख र हेरको अवस्थामा छन् । वार्ताको वातवरण बनाउने गृहकार्य गरिरहेका एक नेताका अनुसार विकसित राजनीतिक घटनाक्रमले वार्तामा प्रभाव पारेको छ ।
चन्द समूह यो सरकार रहन्छ कि रहँदैन भनेर वसेको छ भने सरकारको पनि कार्यसुची फेरीएकाले वार्तामा सकारात्मक पहल हुन नसकेको उनले जानकारी दिए ।
फागुन ९ गतेपनि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा चन्दसँग वार्ता हुन लागेको संकेत गरेका थिए । त्यसअघि चन्दले शनिबार विज्ञप्ति निकालेर सहज वातावरण बनेमा आफ्नो पार्टी नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।
माघ २० गते मात्र सरकारका तर्फबाट खानेपानी मन्त्री मणि थापाले नक्खु जेलमै पुगेर चन्द समूहका नेता हेमन्तप्रकाश ओलीसँग भेट गरेका थिए ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।