News राजनीति

प्रचण्ड–माधवको सकसः अपानीका कारण अर्धभूमिगत, लुकिछिपी भोला पोखरेलको घरमा

प्रचण्ड–माधवको सकसः अपानीका कारण अर्धभूमिगत, लुकिछिपी भोला पोखरेलको घरमा

नेताको जिन्दगीका दुःख पनि कति ! आन्तरिक परिपत्र तयार पार्नुपर्ने, त्यो पनि छेलिएर सोमबार दिउँसो नेकपा अध्यक्ष माधव नेपाल यही दुःख बिसाउन एकजना कर्मचारी नेताको घरमा सुटुक्क छिर्नुभयो । एक घण्टापछि प्रचण्ड पनि त्यहीं पुग्नुभयो ।

पार्टीले हालै केही जनसंगठन र जिल्ला कमिटीहरुको रिक्त पद भर्ने निर्णय गरेको थियो । ती निर्णयलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत देशभर पठाउनुपर्ने । तर, न लेख्ने ठाउँ शान्त छ, न गोप्य कुरा लेखेर सुरक्षित हुने स्थिति छ । घर र पार्टी कार्यालयमा मान्छेका आवतजावत बाक्लो हुनाले अपानि लेख्न शान्त ठाउँ खोज्दै सोमबार दिउँसो १२ बजे नै अध्यक्ष नेपाल तीनकुने, सुविधानगरस्थित कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोला पोखरेलको घर पुग्नुभयो । त्यहाँ उहाँले दुई घण्टा एक्लै बसेर काम गरेपछि प्रचण्ड पुग्नुहुँदा २ बजेर ४५ मीनेट गएको थियो । दुबै नेता मूलसडकमा ओर्लिएर अलिकति भित्र महान्यायाधिवक्ता अग्नि खरेल र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको घरछेउस्थित पोखरेलको घरसम्म पैदल पुग्नुभएको थियो । किनभने, पार्टीका कतिपय नेता, कार्यकर्ता सुरक्षाकर्मी र ड्राइभरलाई लोकेसन सोधेर पनि भेट्न पुगिदिन्छन् । तर, गर्नुपर्ने काम बेग्लै थियो । त्यसकारण उहाँहरु अर्धभूमिगत शैलीमा त्यहाँ जुट्नुभएको हो । दुई अध्यक्षले एक घण्टा बसेर अपानिबारे छलफल गरी कुरा टुंग्याउनुभयो ।

उहाँहरुले स्वास्थ्यलाई राम्रो गर्छ भन्दै ग्रीन टी पिउनुभयो । र, अंगुर, स्याऊ खाएर सोझै वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न जानुभयो ।

तर दुःखको खबर, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि मिर्गौलाको समस्याले गाँजिसकेको रहेछ । हालै दिल्लीमा उपचार गरेर फर्किनुभएका खनालमा यस्तो समस्या देखिएपछि सोमबार अपरान्ह नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल उहाँको डल्लुस्थित घरमा एक घण्टा बसेर फर्किनुभएको छ ।

प्रचण्ड गृहजिल्ला चितवन पुग्नुभएको बेला झलनाथले दिल्लीबाटै फोन गरेर आफ्नो किड्नीमा समस्या आएको कुरा सुनाउनुभएको थियो । प्रचण्डले भन्नुभयो, ‘नआत्तिनुस्, केपीको किड्नी त यहीँ फेर्न सकियो भने तपाईंको मात्रै किन सम्भव छैन ? म अहिले उपेन्द्रजीलाई (महतो) भनिदिन्छु, यतै मेडिसटी या कतै उपचार गर्ने हो ।’ स्मरणीय छ, उपेन्द्र महतोले नख्खुमा अत्याधुनिक सुविधा र प्रविधिसहितको मेडिसिटी अस्पताल सञ्चालन गरेका छन् ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।

विशेष