सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा चमत्कार नै गरेको छः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा चमत्कार नै गरेको दाबी गरेका छन् । झापामा चीन नेपालमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्दै ओलीले यस्तो दावी गरेका हुन् ।
केहि मानिसहरू विकासको लहर चलेको देखेर जलेको भन्दै ओलीले भने, ‘मैले विश्वास लिएको छु स्थानीय तह र राजनीतिक दलले सबैको साझा उपलब्धि बुझेर सबै पक्ष समावेश हुनेछन्। सहयोगी हात बढाउनेछन् भन्ने विश्वास लिएको छु।’
ओलीले अन्य ३१ वटा पुल शिलान्यास गर्ने बताए। जसमा पाँच वटा उद्घाटन गरिने उनले जानकारी दिए। ‘चुनावमा आउँदा खोलो देखाइदिनुस् पुल बन्छ भनेको थिएँ। बाटोको ठाउँ देखाइदिनुस् बाटो बन्छ भनेको थिएँ’ ओलीले भने।
प्रधानमन्त्री ओलीले केही वर्षपछि रोजगारीका लागि कोही नेपाली विदेश जानु नपर्ने बताए। औद्ययोगिक पार्क बनेपछि लाखौं नेपालीले रोजगारी पाउने तर्क गरेका उनले स्वदेशमै रोजगारीको वातावरण बनिरहेको दावी पनि गरे।
पार्क निर्माणका क्रममा पनि ४५ हजार नेपालीले रोजगारी पाउने बताए । पार्क निर्माणका लागि दुई अर्ब रुपैयाँ विनियोजन भइसकेको र दुई वर्ष भित्र पार्क निर्माणले उल्लेख्य गति लिने पनि बताएका छन् ।
६३ अर्ब रुपैयाँमा बन्न लागेको उक्त पार्कको पाँच वर्षभित्र पूर्वाधार निर्माणको काम सकिने बताए । बहुउद्देश्यीय उक्त पार्क बनेपछि लाखौं नेपाली युवाले रोजगारी पाउने उनको भनाइ छ ।
दमक, कमल र गौरादह तीनवटा नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।
रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमुना हुने बताइएको छ ।
१ हजार ३ सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो । पार्कमा ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने बताइएको छ ।
चिनियाँ लगानी औद्योगिक पार्क