News अपराध सुरक्षा

वृद्ध दम्पत्ति एक सातादेखि वेपत्ता, स्थानीय चिन्तित, प्रहरी/प्रशासन मुक दर्शक

वीरेन्द्र रमण

वृद्ध दम्पत्ति एक सातादेखि वेपत्ता, स्थानीय चिन्तित, प्रहरी/प्रशासन मुक दर्शक

जनकपुर– महोत्तरीको पिपरा गाउँपालिका–५ का जेष्ठ नागरिक दम्पत्ति वेपत्ता भएको एक साता पुगेपनि प्रहरीले सुराक समेत पता लगाउन सकेको छैन । घना बस्तीबाटै दम्पत्ति वेपत्ता भएको लामो समय वितिसक्दा पनि उनीहरुको वारेमा सुचनासम्म नपाउँदा एकातर्फ सर्बसाधारण चिन्तीत भएका छन भने अर्कोतर्फ सुरक्षा संयन्त्र माथि नै प्रश्न चिन्ह उठेको छ।

६५ वर्षीय मुसाफिर झा र उनकी ७० वर्षीया श्रीमती गितादेवी झा आफ्नै घरमा सुतिरहेका अबस्थामा गएको सोमबार राती देखि नै वेपता भएका छन् । यो घट्नापछि पिडित परिबारका साथै सर्बसाधारण पनि त्रसित छन् । 


प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामदेखि ८ किलोमिटर दक्षिणमा रहेको घटना स्थलमा रगतका छिटा र घिसारेको सवुत पनि फेला परेको छ । घटना प्रकृति हेर्दा झा दम्पतीको हत्या भएको आंशका छ । मुसाफिर मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । खरिदार हुँदै नायब सुब्बा भएका उनी १० वर्ष अगाडि अवकाश लिएका थिए । मुसाफिरको स्वभाव सरल भएको उनका भाई विजयकान्त झा वताउँछन् ।

सोझो तथा ईमान्दार रहेका मुसाफिरको कोहि सत्रु भएको पनि आफुलाई जानकारी नभएको उनले वताए । मालपोतको पूर्व कर्मचारी भएकाले जग्गा सम्बन्धि कुनै समस्या हुँदा वा विवाद हुँदा उनको खोजी हुने गथ्र्यो । सबैलाई सहयोग गर्ने प्रयास गर्ने उनी बुढाबूढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरुको ओछ्यान समेत रगतको टाटा देखिनुले घटना रहस्यमय भएको प्रहरीले समेत जनाएको छ । प्रहरीले मङ्गलबार बिहानैदेखि व्यापकरुपमा खोजतलास गरिरहेको छ । गाउँको चारैतिरको वन, चौर, झाडी, खोलानाला र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानमा समेत खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको बताएको प्रहरीको भनाई छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको हुन सक्ने स्थानीय बासिन्दाले आशंका गरेका छन् । ओढने ओछयाउने लताकपडा, झुल, सिरानी, तन्नासहित झा दम्पती वेपता भएपनि घटना भएको राति घरमै सुतिरहेकी बुहारी उषा र नातिनातिनीहरु सकुशल छन् । मोहि जग्गाकै विषयमा केहि दिनअघि विपक्षीसँग उनीहरुको विवाद पनि भएको पिडित परिवारका एक सदस्यले वताए ।


 
उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जनालाई झिकाई आवश्यक सोधपुछ गरिसक्दा पनि कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ । ६५ वर्षिय मुसाफिर र ६० वर्षिया गीता देवीको अपहरण भएको ५ दिनपछि पनि अवस्था अज्ञात रहेकाले प्रहरी प्रशासनका लागि समेत चिन्ताको विषय बनेको छ ।

प्रहरी टोली दैनिक सहोडवा पुगेर अनुसन्धानलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टिका बहादुर केसी स्वयम् त्यहाँ पुगेर घटनाको अनुसन्धान गरिरहेका छन् । तर, प्रहरी प्रशासन अझै अपहरणको सुराक खोज्नमै व्यस्त रहेको प्रहरी उपरीक्षक केसीले बताए ।


एसपी केसीले घटनाको थप प्रतिक्रिया दिन भने मानेनन । घटना लगत्तै आन्दोलित भएका स्थानियबासीलाई उनले १० दिन भित्र सत्यतथ्य पता लगाई सार्बजनीक गर्ने वताएका थिए। तर, ६ दिन बितिसकेपनि घटनाको सुईको समेत पता लागेको छैन । 

यता प्रदेश २ प्रहरीका प्रमुख धीरज प्रताप सिंहले यो घटनाको अनुसन्धानको क्रममा २० भन्दा वढि व्यक्तिसंग सोधपुछ गरिसकिएको जानकारी दिए । उनले ३ जनालाई अनुसन्धानकै लागि हिरासतमा राखिएको बताए । डीआइजी सिंहले भने–‘प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा ईलाका प्रहरीको संयुक्त टोली अपहरणको क्लु खोज्न व्यस्त छ ।’

दम्पत्ति वेपत्ता

विशेष