संवैधानिक इजलासमा गीतको जवाफ गीतवाटैः नाइँ मलाई त्यै केटी चाहिन्छ
प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भईरहेको सुनुवाइमा रिट निवेदकका कानुन व्यवसायीहरूमध्ये गीत गाएर राखेको सवालमा महान्यायाधिवक्ता अग्निप्रसाद खेरेलले पनि गीतवाटै जवाफ दिएका छन् ।
रिट निवेदकका कानुन व्यवसायी गोपालकृष्ण घिमिरेले दुई–दुई संविधानसभाले संविधान निर्माण गरेको तर ‘न बिर्से तिमिलाई न पाए तिमिलाई’ भनेर गीत भनेका थिए ।
त्यसको जवाफमा खरेलले त्यो गीत नभएर रिट निवेदकहरूलाई ‘नाइँ मलाई त्यै केटी चाहिन्छ’ भन्ने गीत सुहाउने बताए । रिट निवेदकहरूले हठ गरिरहेकाले निवेदकका कानुन व्यवसायीले भनेको भन्दा पनि आफूले भनेको गीत सुहाउने खरेलको भनाइ थियो । जनतामा जान हिम्मत नभएर रिट निवेदकहरू ‘नाइँ मलाई त्यै केटी चाहिन्छ’ भनेझै ‘नाइँ मलाई त्यै संसद् चाहिन्छ भनिरहनुभएको छ,’ खरेलले भने ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले सायरी भनेका थिए । उनले मिर्जा गालिबको ऊर्दू सायरी इजलासमा सुनाएका थिए ।
‘जला है जिस्म जहाँ दिल भी जल गया होगा,
कुरेदते हो जो अब राख जुस्तुजू क्या है’
संसद नै म¥यो भने बाँकी केही रहँदैन भन्दै आयसमा उनले उक्त सायरी गाएका थिए । महान्यायाधिवक्ता खरेलले गीतको जवाफमा गीत भनेपछि न्यायाधीश तेजबहादुर केसीले ‘गीतको जवाफ आयो, सायरीको चाहीँ दिनुहुन्न ?’ भनेर सोधेका थिए ।
खरेलले न्यायाधीशको प्रश्नको जवाफ भने दिएनन् ।