News राजनीति प्रदेश २

प्रदेश–२ को प्रदेश सभाका तीन वर्षः दर्जनौ कानुन वने, कार्यान्वयन भएन

प्रदेश–२ को प्रदेश सभाका तीन वर्षः दर्जनौ कानुन वने, कार्यान्वयन भएन

जनकपुर– प्रदेश–२ को प्रदेश सभा गठन भएको तिन वर्ष पुगेको छ। तर, अहिलेसम्म प्रदेशको राजधानी र नामको समेत टुङ्गो लागेको छैन । तीन वर्षको अवधी अस्थायी राजधानी जनकपुरबाट नै प्रदेशको कामकाज संचालन भएको छ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषाको कार्यालयबाट प्रदेश सभा संचालन भईरहेको छ । यसैगरी, बन्द रहेको जनकपुर चुरोट कारखानाबाट मुमख्यमन्त्री र मन्त्रीहरुको निवास तथा कार्यालयहरु संचालन भईरहेका छन ।

प्रदेशसभाको वार्षिकोत्सवका अवसरमा बुधबार विशेष कार्यक्रमको आयोजना गरिएको छ । ठिक ३ वर्ष अगाडि प्रदेश सभाको पहिलो बैठक बसेको थियो । शुरुका दिनमा तिव्र रुपमा कानून निर्माण भए । पछिल्लो समयमा प्रदेशसभा नियमित रुपमा बस्न सकेको छैन । 

प्रदेशसभाको पहिलो वर्ष सत्तापक्ष र प्रतिपक्षको वाकयुद्धमै बित्यो। दोस्रो वर्ष उपभोक्ताहरुको भुक्तानी विवादको असरले प्रदेशसभालाई नराम्ररी असर गर्यो । सो विवादकै कारण प्रदेशसभा प्रभावित हुन पुगेको थियो । फलस्वरुप कानून निर्माणका कार्यहरु समेत प्रभावित भए ।

पहिलो वर्ष १६ वटा कानून निर्माण गरेको प्रदेशसभाले दोस्रो वर्षमा थप ७ वटा कानून निर्माण गर्यो । चालु वर्षमा प्रदेश २ को प्रदेशसभाले १५ वटा कानून निर्माण गरेको छ ।  प्रदेस सभा सचिवालयका अनुसार पहिलो वर्षमा २७ विधेयक दर्ता भएका थिए भने दोस्रो वर्षमा १९ र चालु वर्षमा ७ विधेयक दर्ता भएका छन् ।

प्रदेश २ को प्रदेश सभाले ३ वर्षको अवधिमा दर्जनौँ कानून निर्माण गरेपनि कार्यान्वयन भने एकाध बाहेक कुनै पनि हुन सकेको छैन । प्रदेश २ को प्रदेश सभाबाट ४१ विधेयक पारित भएर ३८ विधेयक प्रमाणिकरण समेत भई सकेको छ । यद्यपि आर्थिक र विनियोजन अतिरिक्त अन्य ऐन कानून हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश सरकारले भने अन्य कानूनहरु पनि कार्यान्वयनको प्रकृयामा रहेको दावी गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी ऐन र निजामति कर्मचारी ऐनहित अन्य कानूनहरु कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार संघ सरकारको बाधा तथा अडचनका कारण प्रदेश प्रहरी ऐन र निजामति कर्मचारी ऐन तयार भएपनि कार्यान्वयन हुन नसकेको हो ।

मन्त्री यादवले प्रदेश २ कै कारण संघीयता संस्थागत भएको र अहिलेसम्म बाँचेको दावी गरे । यद्यपि उनले प्रदेशसभाको ३ वर्ष उपलब्धिमूलक रहेको बताए । 
 

विशेष