News राजनीति

कांग्रेसी अड्कलः प्रधानमन्त्रीले दुई तिहाई दिनोस्, हिन्दु राज्य बनाइदिन्छु भन्न सक्छन् !

कांग्रेसी अड्कलः प्रधानमन्त्रीले दुई तिहाई दिनोस्, हिन्दु राज्य बनाइदिन्छु भन्न सक्छन् !

सत्तारुढ दल नेकपाभित्र यति ठूलो किचलो र बबण्डर मच्चिँदा पनि प्रमुख विपक्षी नेपाली काँग्रेसले शहर बजारमा उल्लेख्य खालको सभा, जुलुस गर्न सकेको छैन । विभाजित हुँदा पनि नेकपाको दुवैतिरको कार्यक्रममा मान्छे ओइरिएका छन् तर, काँग्रेस शून्यप्रायः अवस्थामा देखिन्छ । यस्तो बेलामा काँग्रेसले छलाङ मार्नुपर्ने होइन र ? भनेर सोधिएको जिज्ञासामा एकजना काँग्रेसी नेता नेतृत्वलाई व्यङ्ग्य गर्दै भन्छन् ‘हाम्रा मान्छे कम्युनिष्टको जस्तो सडकमा जाँदैनन् । भोट हाल्ने दिन मतदान केन्द्रमा मात्र जाने हो । काँग्रेसीले दुःख गर्दैनन् । कम्युनिष्टको चाँहि भोटर्स पनि कार्यकर्ता ठानेर ओर्लिएकाले त्यस्तो देखिएको हो ।’

प्रधानमन्त्री ओलीको हिन्दुवादलाई सकारात्मक रूपमा लिएका ती नेताका अनुसार सम्भवतः २३ गतेको आमसभामा प्रधानमन्त्रीले आफूलाई दुई तिहाई बहुमत दिन आग्रह गर्दै त्यसपछि संविधानबाट धर्मनिरपेक्ष हटाउने वचन दिनसक्ने अड्कल लगाइएको छ । उनी भन्छन् ‘प्रधानमन्त्रीले जनमत संग्रह गराउँछु भन्नुहुन्न । चुनाव गराउँछु त्यसैबाट दुई तिहाई बहुमत दिनुभयो भने धर्म निरपेक्षता हटाएर हिन्दु राज्य बनाइदिन्छु’ भन्न सक्नुहुन्छ ।

उनका अनुसार ८१ दशमलब ३ प्रतिशत हिन्दु रहेको मुलुकका मुस्लिम धर्मावलम्बीलाईसमेत सरकारले राज्यकोष खर्चेर प्रत्येक वर्ष साउदी अरेबियाको मक्कामा हज गराउँदै आएको छ । त्यसैले प्रधानमन्त्रीले हिन्दु राष्ट्रको कुरा उठाउनुलाई ठूलो रूपमा लिन नहुने उनी बताउँछन् । उनले भने ‘डेढ दशकअघि पश्चिमा र केही छिमेकीलाई राजा हटाउन परेकाले हटाइसकेपछि कहिल्यै राजतन्त्र नफर्किने व्यवस्था कसरी उल्लेख गर्ने भन्ने क्रममा राजा र राजतन्त्र अडिएको आधार भत्काइएको थियो ।’ राजा र राजतन्त्र अडिएको हिन्दूत्वलाई फालेर धर्म निरपेक्ष र एकीकृत सार्वभौमसत्तालाई भत्काएर सात वटा टुक्रा बनाइनु नै उक्त आधार तोडिएको रूपमा बुझ्न सकिने उनले तर्क गरेका छन् ।

त्यसैगरी, राजतन्त्र जातीय सद्भावमा टिकेकोले त्यसलाई सिध्याउन जातीय आरक्षण अघि सारेर सँधैभरीको निम्ति शंका र अविश्वास बढाउने काम भएको उनी दाबी गर्छन् । ती सबै कालान्तरमा समेत राजा र राजतन्त्र नफर्कने गरी अघि सारिएको एजेण्डा थियो । उनी भन्छन् ‘हिन्दु र मन्दिरको कुरा गरेपनि यतिखेर राजा ल्याउने पक्षमा कोही पनि देखिँदैनन् ।’

अहिले प्रधानमन्त्रीको सक्रियता त्यहि धार्मिक समुदायलाई प्रभाव पार्ने र निर्वाचनमा मत लिने उद्देश्यले अघि बढेको रूपमा काँग्रेसका नेताहरूले बुझेका छन् । उनीहरूले यसबाट प्रधानमन्त्रीले १० देखि १५ लाख मत बढाउने विश्वास लिएको निश्कर्ष निकालेका छन् । काँग्रेसका हिन्दुवादी ती नेता भन्छन् ‘मोदीले अन्य धर्मावलम्बीलाई मतलब नगरेर जसरी हिन्दुलाई च्याप्ने काम गरेका छन्,  ओलीले पनि त्यहि गर्न खोजेको हो । उनले हिन्दुको मन जित्ने प्रयास गरेका हुन् ।’

बैशाखमा चुनाव भएमा काँग्रेसले गरेको विश्लेषणअनुसार ‘अधिकांश वामपन्थीको मत प्रचण्ड–नेपाल समूहलाई जान्छ । गैरवामपन्थीको भोट काँग्रेसलाई नै जान्छ । केपीलाई ती बाहेक राष्ट्रवादी, हिन्दु राष्ट्रका पक्षधर र संघीयता विरोधी भनाउँदाहरूको भोट आउने हो ।’ त्यसैलाई जोगाउन नसकिने हो भने लफडा हुनसक्ने देखिएपछि प्रधानमन्त्रीले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण र पशुपतिनाथको मन्दिरभित्र १ सय ८ केजीको सुनको जलारी हाल्ने योजनासहितको रोडम्याप बुन्नुभएको रूपमा काँग्रेसले बुझेको बताइन्छ ।

विगतमा झैँ प्रधानमन्त्री ओलीबाट राष्ट्रियताको पक्षमा केही अडिग खालको काम गर्ने आश मर्दै गएको ती नेताको भनाईबाट नै स्पष्ट हुन्छ । ‘कसरी आश मर्यो र ?’ भन्ने जिज्ञासामा उनी भन्छन् ‘भारतीय पक्षसँग निरन्तर भेट गरिएको छ । सम्बन्ध सुधारको नाममा अरुण परियोजना पनि बुझाइएको छ । भारतले अनिच्छा देखाए पनि हाम्रा प्रधानमन्त्रीले नक्सा सहितको पाठ्यसामग्रीलाई रोक लगाउनु भएकै छ । नक्साको काम पनि रोकिएकै छ । जसरी भएपनि खुशी पार्ने काम भइरहेको छ ।’

नेपाली काँग्रेसको निश्कर्षमा गत असारमा सरकार ढाल्नलाई भारतले सहयोग गरेको आरोप र झोंकमा प्रधानमन्त्री ओलीले नक्सा जारी गर्नुभएको हो । तर, जेठ १५ गतेको नेकपा सचिवालय बैठकमा पेलपाल गरेर जारी गर्न बाध्य बनाइएको नक्सा सार्वजनिकको ‘क्रेडिट’ लिने प्रयास भने अहिले प्रधानमन्त्री आफैँले गरिरहनुभएको छ ।

पटक पटकको ओलीसँगको भेटपछि काँग्रेसले बालुवाटारको आक्रोश माधव नेपालतर्फभन्दा प्रचण्डप्रति बढी रहेको अर्थ लगाएको छ । अर्कोतर्फ पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्डलाई पुनः जंगलतर्फ फर्काउँछ की भन्ने विदेशी दातृराष्ट्र तथा निकायहरूमा भ्रम र आशंका रहेको पनि काँग्रेसले अनुभव गरेको बताइन्छ ।

अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा फैसला पुनस्र्थापनाको पक्षमा आएमा प्रचण्ड प्रधानमन्त्री बन्ने अन्यथा, बाबुराम भट्टराई हुने काँग्रेसका तिनै नेताले निर्धक्कसँग बताएका छन् । दक्षिणले पनि बाबुरामलाई नै चुनावी प्रधानमन्त्री बनाएर जाने योजना बुनेको समेत उनीहरुको बुझाई छ । उनी भन्छन् ‘पहिले उनैले खिलराजलाई सरकार बुझाएका थिए, अहिले त्यहि सत्ता बाबुरामलाई बुझाउनुपर्ने अवस्था उत्पन्न हुनसक्छ’ ।

एकथरि काँग्रेसीहरुको विश्वास छ ‘अब मधेशवादी दल पनि फुट्नेछन् । त्यसपछि उपेन्द्र एकातिर, महन्थ अर्कोतिर हुनेछन् । संसद पुनस्र्थापना भएमा पुनः अंक गणितीय खेल शुरु हुन्छ ।’ त्यसपछि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आएपछि नेकपा पनि स्थायी रूपमा विभाजन हुने र केपीका धेरैजसो सांसद माधव समूहतिर जाने काँग्रेसको निश्कर्ष रहेको स्रोतले बताएको छ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

विशेष