वन्द अवज्ञा गरेको भन्दै आमाछोरीलाई खन्याईयो तातो तेल
आमहड्ताल उलंघन गरेको भन्दै मोरङ्गको विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका माथि तातो तेल खन्याइएको छ भने पसलमा तोडफोड गरिएको छ ।
नेकपा दाहाल–नेपाल समूहका नेता÷कार्यकर्ताले विराटनगर महानगरपालिका–२ मा रहेको पसलमा पुगेर तोडफोड र उपद्रो गरेका हुन। घटनामा दुई महिला घाइते भएका छन्। घाइतेहरु एउटै परिवारका आमाछोरी हुन्। हड्तालका क्रममासञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्।
समोसा (सिङ्गडा) पकाउन राखिएको तातो तेल खन्याउँदा पसल संचालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका छन्। पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो।
विराटनगर महानगरपालिका कार्यालयको गेट अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी र लात्तीले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए।
तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन्। पसलमा बनिसकेका खानेकुरा फ्यालिदिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँक्ने र कुच्याउने काम गरिदिएको छ।
भीड थप अराजक बन्दै गएपछि सहनी परिवारका सदस्यले पनि डाडु र पन्यूले उनीहरुको प्रतिकार गरेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाही गरिने वताएका छन् ।