ओली पक्षीय नेकपाको सभाले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त, दरबारमार्ग क्षेत्र नियन्त्रणमा
ओली पक्षीय नेपाल कम्युष्टि पार्टी (नेकपा) को जनसभाका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।
दरबारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।
सवारी आवागमन सहज बनाउन भाडाका ठूला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको छ।
ड्राइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कृणपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन लामबद्ध भएर चलिरहेका छन् । कार्यक्रम अवधिभर सवारी साधन ड्राइभर्सन हुने भएकोले सवारी चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ ।
विभिन्न स्थानमा मानिसहरू जम्मा भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने सभाका लागि दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा लिईएको छ । यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च बनाइएको छ । सडकको डिभाइडर निकालेर प्रधानमन्त्री ओलीको फ्लेक्स टाँगिएको छ ।
सरकारको नेतृत्व गरेको पार्टी आफै र स्वयं प्रधानमन्त्री जस्तो व्यक्ति सहभागि भई सम्बोधन गर्ने सभाका लागि नागरिकको आवतजावत, व्यवसाय र यातायात नै बन्द गरेर नियन्त्रण लिइएको छ ।
अरुले नागरिक अधिकारमाथि व्यवधान पु¥याएमा सहजीकरण गर्ने कर्तव्य र दायित्व भएको सरकारका प्रधानमन्त्री स्वयं सहभागि हुने कार्यक्रममा नागरिकको चहलपहल हुने मुख्य क्षेत्रमै निशाना बनाइँदा दलहरुले जे गरे पनि हुने भन्ने सन्देश गएको छ ।
यसअघि नेकपाकै अर्को घटक पुष्पकमल दाहाल पक्षले यसैगरी भृकुटीमण्डप अगाडीको सार्वजनिक सडक नै कब्जा गरेर कार्यक्रम गरेको थियो ।