News राजनीति

प्रचण्डलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गर्ने गृहमन्त्री वादलको चेतावनी

प्रचण्डलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गर्ने गृहमन्त्री वादलको चेतावनी

गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा बन्द गरिने चेतावनी दिएका छन् ।

ओली नेतृत्वको नेकपाले नारायणहिटी अगाडि आज आयोजना गरेको आमसभामा बादलले भने, ‘मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्ने घोषणा गरेका छन् । म उनीहरुलाई भन्न चाहन्छु मांशाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’

पुस्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने बताएका थिए । त्यसैलाई बादलले जवाफ दिएका हुन् । उनले मांसाहारी आन्दोलन नेपालको कानून र संविधानले अपराध घोषित गरेको बताए ।

वादलले अब तेस्रो जनआन्दोलनको थालनी भएको पनि बताए। ‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ’ उनले भने–‘प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ ।’

परिस्थितिको सामना गर्नका लागि अहिलेको अवस्था सिर्जना भएको उनले दाबी गरे । सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले बताए । 
 

विशेष