News

आयोगका पदाधिकारीलाई मन्त्री तुम्बाहाङ्फेको चेतावनी– ऐनविपरीत गए कानुनी दायराभित्र आउनुपर्छ

आयोगका पदाधिकारीलाई मन्त्री तुम्बाहाङ्फेको चेतावनी– ऐनविपरीत गए कानुनी दायराभित्र आउनुपर्छ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा ऐनविपरीत गए कानुनी दायराभित्र पर्ने चेतावनी दिएकी छिन् । 

भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानुनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिइन् । ‘तपाईँहरुले निश्चित अधिकारमात्रै दिइएको छ,’ काठमाडौंमा शनिबार उनले भनिन्–‘ऐनविपरीत जानुभयो भने कानुनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ ।’

भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँँदै उनले त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन् । 

आयोगका पदाधिकारी नै सर्वैसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरिन् ।

सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ । मन्त्री तुम्बाहाङ्फेले आयोग निर्माणमा सकभर महिलासहित जातीय क्लस्टर मिलाउने अधिकतम प्रयास गरिएको जानकारी दिइन् ।

विशेष