भागरथीको मोवाईलमा भारतीय सिम, परिवारले अझै वुझेनन् शव
वलात्कारपछि हत्या गरिएको आशंका गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ जडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले अझै वुझेका छैनन् ।
हत्याराको टुङ्गो नलागेसम्म शव नबुझ्ने मृतकका काका शिवराज भट्टले बताए। प्रहरीले मृतकका आफन्तलाई विश्वास दिलाएर सुरूबाटै संवेदनशील भएर अनुसन्धान गरिरहेको दाबी गरेको छ।
बुधबार स्कुल गएकी भागरथी विद्यालयबाट फर्किँदा हराएकी थिइन्। घर नफर्किएपछि आफन्तले उनको खोजी सुरू गरेका थिए। उनीहरूले प्रहरीलाई पनि खबर गरेका थिए।
आफन्त र प्रहरीले खोजी गरिरहँदा बिहीबार बेलुका उनको शव लवलेक सामुदायिक वनमा फेला परेको थियो। शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख, सरकारी वकिल र जिल्ला अस्पतालका प्रमुखसहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।
प्रहरीले तालिम प्राप्त कुकुर पनि झिाएको थियो । शवको शनिबार नै पोष्टमार्टम पनि गरिएको छ तर, रिपोर्ट प्राप्त हुन वाँकि रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धान सफलतानजिक पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।
घटनास्थलबाट प्रहरीले भागरथीको मोबाइल फोन फेला पारेको छ । जसमा भारती नम्वरको सिम फेला परेको छ । प्रहरीका अनुसार भारतीय सीम कार्ड उनका दाईले भारत बसेर फर्कँदासँगै ल्याएका थिए । भागरथीले प्रयोग गर्ने गरेको नेपाली सिमकार्ड घटना भएको दिन घरमा नै फेला परेको छ ।
प्रहरीले फेला घटनास्थलमा फेला परेको मोबाइल र नेपाली सीमकार्ड दुवैको डाटा ‘रिकभर’ गरिने प्रहरीले जनाएको छ ।
घटनामा एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपीको टोली पनि खटिएको छ। त्यसैगरी क्षेत्रीय अनुसन्धान समूह आरआइटीलगायतका प्राविधिक प्रहरी अधिकृतहरू समेत यसमा संलग्न रहेको एसएसपी सिंहले बताए। सुदूरपश्चिमका डिआइजी पनि बैतडी पुग्दैछन्।
अनुसन्धान टोलीले भागरथीका आफन्त, साथीभाइहरूसँग सोधपुछ गरिरहेको उनले बताए।