News स्वास्थ्य

सोमवारदेखि पत्रकारलाई पनि कोरोनाको खोप, परिचय पत्र चाहिने

सोमवारदेखि पत्रकारलाई पनि कोरोनाको खोप, परिचय पत्र चाहिने

माघ १४ गतेबाट शुरू भएको भएको खोप अभियानअन्तर्गत सरकारले पत्रकारहरूलाई पनि कोरोना विरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि पत्रकार तथा नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूलाई पहिलो चरणमै खोप उपलब्ध गराउने निर्णय लिएको हो। शनिवारसम्म स्वास्थ्यकर्मीसहित कोरोना महामारी नियन्त्रण गर्न अग्रपङ्त्तिमा खटिएका कर्मचारीलाई खोप दिइएको थियो।

अभियान सुरु भएको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरिएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले सोमबारदेखि कूटनीतिक नियोगका विदेशी कर्मचारी, उनीहरूका आफन्त र त्यहाँ कार्यरत नेपाली कर्मचारी र पत्रकारलाई दिने निर्णय गरिएको बताए।

मन्त्रालयले पत्रकारहरूका लागि सूचना विभागको प्रेस पास देखाउनुपर्ने बताएको छ। तर, विभागको प्रेस पास नलिएका पत्रकारहरूले सम्बन्धित मीडिया हाउसको प्रेसपास देखाएर खोप लगाउन सक्नेछन्। सम्बन्धित संस्थाले खोप शाखामा गएर आफ्नो मीडिया हाउसका पत्रकारहरूको विवरण भने पेश गर्नुपर्ने डा. अधिकारीले बताए।

सरकारले भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप लगाइरहेको छ। पहिलो चरणको कोभिड विरुद्धको खोपअन्तर्गत अन्तिम दिन शनिबारसम्म देशभर १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन्।
 

विशेष