News राजनीति

प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा पुगिसकेः प्रचण्ड

प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा पुगिसकेः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपीशर्मा ओली रक्षात्मक अवस्थामा पुगेको दावी गरेका छन् ।

माघ २३ गते नारायणहिटी संग्राहलय अगाडि आयोजना गरिएको आमसभामा ओलीले ३ लाख मानिस उतार्ने दाबी गरे पनि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री रक्षात्मक अवस्थामा गइसकेको उनको दावी छ ।

आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले धाकधक्कु लगाए पनि ओलीलाई जनताले साथ नदिएको बताए । ‘ओली रक्षात्मक अवस्थामा गइसके । उनीहरुको सुरक्षा निकायले पनि ३५ हजार बढी थिएनन् भनेपछि गाली झगडा सुरु भएको छ’, प्रचण्डले भने । धेरै देखाउन यत्रतत्र राख्दा पनि धेरै मान्छे नभएपछि ओली समूह रक्षात्मक अवस्थामा पुगेको उनले बताए ।

ओली समूहको २३ गतेको आमसभाको जवाफ दिने तयारीमा रहेको ओली इतर समूहले २८ गतेको सभालाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। प्रचण्डले कपी ओली शैक्षिक क्षेत्र सुधारको बाधक भएको आरोप समेत लगाए।

शिक्षकप्रति ओलीले दोहोरो मापदण्ड अपनाएको उनको भनाई थियो। कुनै कमिटीमा नराखौं भन्ने ओलीले केन्द्रीय कमिटी बिस्तारमा अधिकांश शिक्षकलाई राख्नु ठगी भएको उनको तर्क थियो।


आफू पदको लोभी नभएको बरु पार्टी बचाउन त्याग गर्ने नेता भएको उनले दाबी गरे। संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको प्रचण्डले बताए । आफूले पार्टी एकता बचाउन पाँचै वर्ष प्रधानमन्त्री छोडे पनि ओली समूहले पदको लडाइँ भनेर बद्नाम गराउन खोजेको पनि उनले बताए ।
प्रचण्डले देशको राजनीतिक वातावरण बिस्तारै आफ्नो पक्षमा बन्न थालेको दावी गरे।

विशेष