भागरथी भट्टको वलात्कारपछि घाँटी थिचेर हत्याः डिआईजी सुवेदी
बैतडीमा बिहीबार मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको पोष्टमार्टम रिपोर्टले उनको घाँटी थिचेर हत्या भएको देखाएको छ ।
जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमा दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले वालिकाको वलात्कारपछि घाँटि थिचेर हत्या भएको रिपोर्ट आएको जानकारी दिए । ‘पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखियो’–उनले भने।
सामूहिक बलात्कार हो/होइन भन्नेबारे थप परीक्षण भइरहेको सुवेदीले जानकारी दिए । घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाईएको र रिपोर्ट प्राप्त भएपछि थप कुराहरुको जानकारी प्राप्त हुने उनको भनाई छ ।
बुधबार स्कुल गएकी भागरथी विद्यालयबाट फर्किँदा हराएकी थिइन्। घर नफर्किएपछि आफन्तले उनको खोजी सुरू गरेका थिए। आफन्त र प्रहरीले खोजी गरिरहँदा बिहीबार बेलुका उनको शव लवलेक सामुदायिक वनमा फेला परेको थियो। शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख, सरकारी वकिल र जिल्ला अस्पतालका प्रमुखसहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।
घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् । उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआइवीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडी पुगिसकेको छ ।