मालपोत जान किन डराउछँन कर्मचारी ?
एउटा व्यक्तिको जग्गा अर्को व्यक्तिको नाममा पारेको आरोप लागेपछि मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा विश्वरूप साउदलाई माघ २ गते प्रहरीले पक्राउ गर्यो ।
सुर्खेतको वीरेन्द्रनगर–६ निवासी सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिई अर्काको नाममा गर्ने काममा सहयोग गरेको उनीमाथि आरोप छ। रावतको नाममा शंकर चोकमा रहेको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिका नाममा बिक्री भएको खुलेपछि नासु विश्वरुपलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नासु साउदले सन्तोष ठाकुर नामका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा अर्काको नाममा परेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
तर, जग्गा प्रकरणमा गलत मनसाय भएका ब्यक्तिको उजुरीमा र कर्मचारीलाई मात्र पक्राउ गर्नुले प्रहरीको यो कदम विवाद रहित भने हुन सकेन । सर्वसाधारणदेखि उच्च अहोदामा रहेको ब्यक्तिले समेत प्रहरीको यो कदम विरुद्ध असन्तुष्टि जनाएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष पौडेलले यस विषयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लामो स्ट्याटस नै लेखे। प्रहरीको यस्ता कृयाकलापले मालपोत कार्यालयमा कर्मचारी जान डराउने र सरुवा भई हाले पनि काम गर्न डाराउने गरेको उनको आसय छ। ‘मालपोतमा कर्मचारी आउन किन डराउँछन र काम गर्ने वातावरण कस्तो छ ? भनेर वुझन सुर्खेतको यो घटना काफी छ’ उनले लेखेका छन्–‘जग्गा दललले उजुरी गर्नासाथ विना प्रमाण कर्मचारीलाई पक्राउ गरी थुन्नै पर्ने यस्तो वाध्यता के आई पर्यो होला प्रहरीलाई ?’
जग्गा रजिष्ट्रेसन पास गरेको सम्पुर्ण विवरण अनलाईनमा सुरक्षित हुने र कर्मचारी भागेर कतै जान नसक्ने अवस्थामा पनि प्रहरीले कर्मचारीलाई पक्राउ गर्नुले नियमै शंका उत्पन्न गराएको उनको स्ट्याटसको आसय छ । ‘ जग्गा अनलाईन प्रणालीमा पास प्रणालीमा पास भएकोले प्रणालीमै सवै अभिलेख सुरक्षित भएको हुँदा कर्मचारीलाई वाहिरै राखेर पनि अनुसन्धान अगाडि वढाउन सकिन्थ्यो। कर्मचारी भागेर कहाँ जान्थ्यो होला र ?’ उनले प्रश्न गरेका छन्–‘आरोप पुष्टि हुन नसक्ने देखिएपछि उजुरीकर्तालाई वचाउने र कर्मचारीलाई जसरी पनि फसाउने षडयन्त्र भएको भनी अन्य कर्मचारीले पनि गम्भिर चिन्ता ब्यक्त गरेका छन् ।’
कर्मचारीको मिलेमतोमा जग्गा विक्रि गरेको भनिए पनि जग्गा किन्ने उपर उजुरी नपर्नु र पक्राउ पनि नपर्नुले थप शंका उत्पन्न गराएको उनको स्ट्याटसमा उल्लेख छ । ‘कर्मचारीको मिलेमतोमा जग्गा धनीलाई झुक्याएर जग्गा विक्रि गरेको भनिएको छ तर जग्गा किन्ने उपर न उजुरी छ न पक्राउ’ उनले लेखेका छन्–‘के कर्मचारीले कसैको जग्गा किन्ने ब्यक्तिले थाहै नपााउने गरी उसलाई दान गरे होला ? एउटा जग्गा कारोवारीले असारमा विक्रि भएको आफनो जग्गा वल्ल माघमा आएर थाहा पाउँछ ?’
कर्मचारी पक्राउको त्रास र असर सुर्खेत मालपोतको सेवा प्रवाहमा अहिले नै देखिन थालेको पनि उनले जनाएका छन् । ‘यो आरोप प्रमाणित नभएमा सम्वद्ध ब्यक्ति/पदाधिकारीले जिम्मेवारी लिनु पर्दैन ? उनीहरुलाई सजाय हुन पर्दैन ?’ उनको प्रश्न छ–‘कि कर्मचारी उपर जे जस्तो अन्याय गर्न पनि छुट छ ?’