वर्तमान राजनैतिक परिस्थितिले देशमा सङ्कट आयोः निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेकोले लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन्।
वीरगञ्जमा आज पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानुपर्ने बताए।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए।
उनले कांग्रेस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहेको बताए।
(रासस)