राष्ट्रपतिको अपमान देख्नेहरुले भागरथीको बलात्कार र हत्या किन देखेनन्? : झाँक्री
राष्ट्रपति विरुद्ध असभ्य टिप्पणी गरेर चर्चामा आएकी नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूविरुद्ध कारवाहीको माग गर्नेहरुलाई थप प्रश्न गरेकी छिन् ।
झाँक्री विरुद्ध प्रधानमन्त्री केपी ओली नेतृत्वको अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापा र प्रम ओलीलाई ज्ञापन पत्र वुझाउँदै कारवाहीको माग गरेको थियो। विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पु¥याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेर झाँक्रीले राष्ट्रपति चरित्र हत्या गरेको भन्दै संघले उनलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेको थियो।
गृहमन्त्री थापाले त्यस विषयमा छलफल भईरहेको भन्दै संघका पदाधिकारीहरुलाई आश्वासन दिएका थिए । नेकपा दाहाल–नेपाल समूहद्वारा बागलुङमा आयोजित मंगलबारको सभामा बोल्दै झाक्रीले आफूविरुद्ध ज्ञापनपत्र बुझाउने संघका पदाधिकारीहरु प्रति टिप्पणी गरिन। ‘राष्ट्रपतिको अस्मिताको अपमान भएको देख्नेहरुले बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या किन देखेनन्?’ उनले प्रश्न गर्दै भनिन्–‘निर्मला पन्तका हत्यारा पत्ता लगाउन किन ज्ञापनपत्र नदिएको?’
झाँक्रीले संविधानलाई कागजको खोस्टो बनाउने विरुद्ध हरेक नेपाली नागरिक आन्दोलित हुनु परेको बताइन। पटक–पटक संविधान र कानुन च्यात्नेलाई बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठेर जनताको आवाजमात्रै आफुले बोलेको उनले बताइन् ।
राजाको निरंकुशताविरुद्ध लडेको पुस्ताले प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमको टिप्पणी गर्ने अधिकार जनतालाई सुरक्षित भएको पनि उनको भनाई छ । गलत कामको टिप्पणी गरेर गणतन्त्र र राष्ट्रपति पदको अपमान नभएको उनले बताइन् ।
झाँक्रीले आम नागरिकले गरेको प्रश्नमा मञ्चमा उभिएर प्रतिनिधिको रुपमा मात्रै आफूले टिप्पणी गरेको बताइन् ।