News स्वास्थ्य

नेपालमा आधाभन्दा वढिले किन लगाएनन् कोरोना विरुद्धको खोप ?

नेपालमा आधाभन्दा वढिले किन लगाएनन् कोरोना विरुद्धको खोप ?

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीसहित चार लाख ३० हजार जनालाई कोभिड खोप दिने लक्ष्य राखेपनि आधाभन्दा कमले मात्रै खोप लगाएको पाईएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाइ कर्मचारी र एम्बुलेन्स तथा शव वाहन चालकहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराएको थियो।

चार लाख ३० हजार जनाले पहिलो चरणमा खोप लिने भनिएको भए पनि शनिवार साँझसम्म १ लाख ८४ हजार ८ सय ५७ जनाले मात्रै खोप लिएका थिए।

तथापी स्वास्थ्य मन्त्रालयको खोप शाखाले लक्ष्यको ८२ प्रतिशतभन्दा बढीलाई पहिलो चरणमा खोप उपलब्ध गराएको जनाएको छ । खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेती भर्खरै खोप अभियान थालिएकाले धेरै जना ‘पर्ख र हेर’ कै चरणमा रहेको बताउँछन्।

सङ्क्रामक रोगसम्बन्धी विज्ञले नयाँ खोपबारे पर्याप्त चेतना र आत्मविश्वास दिलाउन नसकिएकाले यो अवस्था आएको बताएका छन्। दोस्रो चरणमा सोमवारबाट राष्ट्रसङ्घीय निकाय, कूटनीतिक नियोगमा कार्यरत कर्मचारी र पत्रकारहरूलाई खोप दिन थालिएको छ ।

खोपको साइड इफेक्टका खबरहरू आएकोले हामीले एक दुई महिना हेर्ने कि भनेर सबैले सल्लाह गरेर नलिएको वीरगञ्जस्थित आँखा अस्पताल मात्रिका आइ फाउण्डेशनका चिकित्सक डा. महेश सिंह धामीले वताए ।

स्वास्थ्य मन्त्रालयको कोभिड–१९ सम्बन्धी विज्ञ समितिले तयार पारेको एउटा दस्तावेज अनुसार खोप दिनुपर्ने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीको संख्या झण्डै साढे तीन लाख रहेको छ।

नेपालले दिइरहेको ‘कोभिशील्ड’ नामक खोप गर्भवती तथा स्तनपान गराइरहेका महिला र १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरूलाई उपलब्ध गराइएको छैन।

विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासका अनुसार सुरुमा खोपप्रति अनिच्छा देखिएको जस्तो भएपनि उक्त अस्पतालका अधिकांशले खोप लिएको बताए।

उनका अनुसर विराटनगर महानगरपालिकाका निजी अस्पतालसहित गरेर कोशी अस्पतालको खोप केन्द्रबाट साढे २८ सय भन्दा बढीले खोप लिएका छन्।

उनी भन्छन्, ‘शत प्रतिशतले लिने परिस्थिति कहिल्यै हुँदैन। हाम्रो अस्पतालका अधिकांशले लिइसक्नुभएको छ।’

विशेष