News

प्रदेश २ सरकारलाई पहिलो गाँसमै ढुङ्गा, प्रदेश प्रमुखद्वारा एक सातामा दुई विधेयक फिर्ता

वीरेन्द्र रमण

प्रदेश २ सरकारलाई पहिलो गाँसमै ढुङ्गा, प्रदेश प्रमुखद्वारा एक सातामा दुई विधेयक फिर्ता

जनकपुर– प्रदेश २ सरकारले प्रमाणीकरणका लागि पठाएका दुई वटा विधेयक प्रदेश प्रमुख राजेश झाले फिर्ता पठाएका छन् । 

प्रदेश सभाबाट पारित स्वास्थ्य सेवा र प्रदेश पदक सम्बन्धी विधेयक परिमार्जनका लागि सन्देशसहित फिर्ता पठाइएको हो ।

एक सातायता दुई विधेयक प्रदेशसभा संसद् सचिवालयमा सन्देशसहित फिर्ता आएको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ । प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएपछि विधेयक प्रदेश सभा बैठकमा सन्देशसहित प्रस्तुत गरिने जनाईएको छ ।

स्वास्थ्य सेवा विधेयकमा आयुर्वेद सेवा वडा तहसम्म विस्तार गर्न, प्रदेशस्तरमा रहने स्वास्थ्य समिति एकीकृत रहेकोले चिकित्सा र जनस्वास्थ्य गरी फरक–फरक समितिको व्यवस्था गर्न सन्देश दिएको छ । स्वास्थ्य विधेयकमा पूर्ण प्रदेश सुरक्षित मातृत्वका लागि गर्भवती महिला अनिवार्य स्वास्थ्य संस्थामा आउनु पर्ने र स्वास्थ्य संस्थामा आउन नसकेका महिलालाई घरमै गएर स्वास्थ्य परामर्श सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था थप्न तथा प्रदेशका बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन पूर्ण प्रदेश खोप सेवा थप्न सुझाव दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

प्रदेश पदक विधेयकमा प्रदेश प्रमुखले प्रदेशमा रहेको प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्दै प्रदेशका नागरिक प्रदेश बाहिर देशमा र विदेशमा गौरव बढाएको खण्डमा पदक दिर्नु पर्ने र एउटै व्यक्ति दोस्रो पटक एउटै पदकबाट सम्मानित हुँदा फरक चिन्हको व्यवस्था गर्न सुझाव दिएको छ । पदक सिफारिस समितिमा महिलासहित अन्य जातजातिको समावेशी सदस्य राख्नसमेत प्रदेश प्रमुखले सुझाव दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

विशेष