News

भारतीय सहयोगमा गोरखामा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय सहयोगमा गोरखामा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको नेरु ४ करोड ३३ लाख आर्थिक सहयोगमा गोरखा जिल्लाको शहीद लखन गाउँपालिकामा निर्मित श्री हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको वुधवार उद्घाटन गरिएको छ ।

शहीद लखन गाउँपालिका—६, घैरुङ्गमा निर्माण गरिएको विद्यालय भवनको भारतीय राजदूतावासका प्रशासन प्रमुख श्री करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित तीन तले विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक—एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना छन् । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप पहिले ‘साना विकास परियोजना’ को नामले परिचित यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, गोरखाले गरेको हो । 

सन् १९६० मा स्थापित यो विद्यालय सन् २०१० मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा करिब २५० जना विद्यार्थीहरु अध्ययनरत छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई क्षमतालाई अझ अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ । 

सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना प्रदेश नं ४ मा रहेका छन् । भारत सरकारले आर्थिक सहयोग गरेका प्रदेश नं ४ का विविध परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् ।

यस वाहेक भारतीय राजदूतावासले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई १२ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ । 

२०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लामा कूल ७१ वटा शैक्षिक संस्थाको निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भइरहेको छ । यसमध्ये ७ वटा विद्यालय गोरखामा छन् । तीनवटा विद्यालयको निर्माण सम्पन्न भई गत मंसीर १२ गते भारतका विदेश सचिव महामहिम हर्षवर्धन श्रृंगलाद्वारा उद्घाटन भइसकेका छन् भने बाँकी चारवटा विद्यालयको निर्माण कार्य भइरहेको छ । भारतले गोरखामा भूकम्पले क्षति पुर्याएका ३० वटा अस्पतालको पुनर्निर्माण पनि गरिरहेको छ । 
 

विशेष