काठमाडौँ मेयर कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा
नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ मेयर–११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।
पुलिस क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो । एक सय ९८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौँ मेयर ११ ले ३१ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।
काठमाडौँ मेयर ११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए। यस्तै कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाए । बलिङतर्फ पुलिसका पवन सर्राफले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रन बनाए। यस्तै कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ तथा दिलीप नाथले १२ रनको योगदान दिए। बलिङतर्फ काठमाडौँ मेयर ११ का सन्दीप लामिछाने, हरिशङ्कर साह र विपिन खत्रीले समान तीन–तीन विकेट लिए। खेलको प्लेयर अफ दी म्याच पुलिसका पवन सर्राफ घोषित भए।
प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । जितसँगै पुलिस चार खेलमा छ अङ्क जोड्दै फाइनलमा पुग्न सफल भएको हो । शीर्ष स्थानमा रहेको पुलिसले पहिलो खेलमा वाग्मती प्रदेशलाई हराएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो । पुलिसले तेस्रो खेलमा आर्मीलाई पराजित गरेको थियो । काठमाडौँको यो दोस्रो हार हो । काठमाडौँले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँ मेयर ११ ले वाग्मती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा काठमाडौँ मेयर ११ आर्मीसँग पराजित भएको थियो ।
(रासस)