अझै टरेको छैन ओलीको संकट, खनाल–नेपाल तघारो
सत्तारुढ पूर्व नेकपामा जति भाँडभैलो भएपनि पार्टी नै फुटाउने इच्छा न ओली समूहलाई थियो,न अर्को पक्षलाई । तर,सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपालाई नसोचेको ढंगले दुई टुक्रा बनाइदियो । पूर्ववत रुपमा एमाले र माओवादी केन्द्र पार्टीको पुनर्स्थापना भयो । त्यसभन्दा अघि फागुन ११ गते सर्वोच्च अदालतको आदेशले विघटित प्रतिनिधिसभा समेत पुनर्स्थापना भएको छ ।
अदालतको आदेशपछि सत्ता समीकरणमा उत्पन्न जोड घटाउबाट सबैभन्दा धेरै प्रधानमन्त्री केपी शर्मा ओली नै हैरान बन्न थाल्नुभएको देखिन्छ । सत्ता समीकरणमा सक्रिय सबै राजनीतिक दल र समूहले बार्गेनिङको निम्ति थरिथरिका टुल्ससमेत प्रयोग गरिरहेका छन् ।प्रधानमन्त्री ओली समूहसँग हाल वार्ता र छलफल अघि बढाइरहेको जसपाभित्रको अर्को समूह राजपाले राखेको सांसद रेशम चौधरीको रिहाई र संविधान संशोधनको शर्तले त्यहि टुल्सलाई प्रमाणित गरेको छ ।
अप्रत्यक्ष सेटिङमा भइरहेका यी सबै बार्गेनिङ्का गतिविधि कालान्तरमा सबैभन्दा धेरै प्रधानमन्त्री ओलीलाई नै घाँडो हुने निश्चित बन्दै गएको छ ।
यता एमाले पनि पूर्ववत् अवस्थामा फर्किंदै गर्दा त्यहाँभित्रका अन्य वरिष्ठ नेताहरूको उपस्थितिले उहाँलाई हिजोका दिनमाझैँ सहज ढंगले अघि बढ्न सक्ने वातावरण क्रमशः साँघुरिँदै जाने निश्चित छ । नेकपाको विभाजनसँगै वामदेव गौतम तटस्थ र माधवकुमार नेपाल तथा झलनाथ खनालहरू अर्को खेमामा देखिएपछि केपीको एकल निर्णयले सगरमाथा छोएको थियो ।
पुस ५ गतेपछि उहाँको समूहमा प्रधानमन्त्रीले बोल्नै नपर्ने,जुँगा हल्लाएपछि सबै काम फत्ते हुने अवस्था थियो । आफूले जे भन्यो त्यहि हुने भएपछि झण्डै तीन महिना जति उहाँको समूह पनि धार्मिक संघ संस्थाहरूमा देखिने भक्तहरूको पल्टनभन्दा फरक थिएन ।
नेकपा विघटन भएर सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रमा परिणत भएपछि एमालेभित्र अब प्रधानमन्त्रीको वरिष्ठ नेता नेपाल समूहसँग सोझो प्रतिस्पर्धा हुने परिस्थिति बन्दै गएको छ । बालुवाटार निजकटस्थहरूले पनि उक्त परिस्थितिको मूल्याङ्कन गर्दै ‘बरु प्रचण्डसँग भिड्न सजिलो थियो केपीलाई’ भन्न थालेका छन् । किन त्यस्तो र ? भन्ने जिज्ञासामा प्रधानमन्त्री निकट एकजना नेता भन्छन् ‘माधवसँग भिड्न गाह्रो हुन्छ किनकि उहाँलाई ओलीको बारेमा सबै थाहा छ ।’
यसैबीच वरिष्ठ नेताद्वय नेपाल र खनालले ‘पछिल्लो गतिविधि र सरसल्लाह नगरी गर्न खोजिएको निर्णयलाई सहमतिमा भएको मानिँदैन’ भनिसकेका छन् । उक्त प्रतिक्रियाले प्रधानमन्त्रीलाई जसपा वा उसको अर्को घटक राजपालाई सुटुक्क सरकारमा ल्याउन निकै पापड पेल्नुपर्ने अवस्था देखिन्छ ।
नेपाल र खनालबाट अभिव्यक्त उक्त धारणा हिजोका दिनमा एमालेभित्र रहेको विकसित सिस्टम नै हो । हिजो एमालेले पार्टी धारणा विपरित जान खोज्ने प्रधानमन्त्रीलाई कि निर्णय मान्ने नभए कुर्सी छाड्ने भन्ने गरेको थियो । अब भित्रभित्रै खुसुखुसु हिजो सिके राउत र केहि दिनअघि विप्लवलाई भित्र्याएझैँ सजिलो गौतम, नेपाल र खनालको उपस्थितिमा त्यत्ति सजिलो हुने देखिँदैन ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।