जनयुद्धताका प्रचण्डको सम्वन्ध राजा विरेन्द्रसँग थियोः विप्लव समुहका नेता दिपक चलाउने [भिडियो अन्तरवार्ता]
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी सरकारसँग तीन वुँदे सहमति गरेर मुलधारको राजनीतिमा आएको छ ।
एकिकृत जनक्रान्ति मार्फत देश र जनताको अधिकार स्थापित गर्ने भन्दै संघर्ष गरिरहेका वेला सो समुहलाई सरकारले प्रतिवन्ध लगाएको थियो । तत्कालिन अवस्थामा जे जस्ता माग रोखेर संघर्षमा रहेपनि अहिले पुनः शान्तिपुर्ण राजनीतिमा आउनु देश र जनताकै लागि शुभ संकेत हो। तर, प्रतिवन्ध लाग्नु अघि के थियो पार्टीको कार्यदिशा, के थिए कार्यक्रम, के थियो उदेश्य भन्ने विषयमा हामीले उतिवेलै पार्टीका नेता तथा सरकारसँग हालसालै भएको वार्ता टोलीका संयोजक उदय चलाउने (दिपक) सँग कुरा गरेका थियौं।
तपाईको पार्टीको के हो कार्यदिशा भन्ने सवालमा उनले भनेका थिए–‘कार्यदिशालाई दुई ढंगले वुझौै । एउटा– नेपालमा जुन जनमुखि क्रान्तिको कुरालाई हामीले उठायौं। विशेषगरी माओवादी जनयुद्धको सुरुवातदेखि हामीले उठाएका हौ। त्यसको अपुर्णतालाई पुरा गर्न निरन्तरता र परिपक्कतालाई हामीले कार्यदिशाका रुपमा ब्याख्या गरेका छौं । दोस्रो कुरा त्यसलाई कसरी सम्पन्न गर्ने भन्ने कुरामा अहिलेका वस्तुगत र आत्मगत पक्षहरुलाइ समेत समिक्षा गरेर नयाँ पदावली तयार गरेका छौं– एकिकृत जनक्रान्ति भनेर। त्यो चै अहिलेको हाम्रो नेपाली क्रान्तिको मौलिक कार्यदिशा हुनुपर्छ र हुनसक्छ भन्ने हाम्रो वुझाई छ ।’
एकिकृत जनक्रान्ति भनेकै नवुझीएको र वाटो अलमल भएको भन्ने प्रसंगामा स्वभाविक रुपमा कयौं कुराहरु सुरुमा प्रक्षेपण गर्दाखेरी नवुझिने वुझाउन पनि नसकिने उनको भनाई थियो । ‘कयौं कुराहरु वुझनेहरुको हकमा पनि त्यस्तो हुन्छ। त्यसैले साङ्गोपाङ्गो एकिकृत जनक्रान्तिका विषयमा धेरै मान्छेले नवुझ्नु स्वभाविक नै जस्तो लाग्छ। अर्थात हामीले के भनेका छौं भने नेपालको अहिलेको सापेक्षतामा एकिकृत जनक्रान्तिका केहि विशेषताहरु भनेका छौं हामीले । त्यसमा ३÷४ वटा कुराहरु राखेका छौं । विशेषगरी नेपालको सहर र गाउँको अन्तर सम्वन्धको विषयलाई । विगतमा क्रान्तिको ठुलो आधार भनेको गाउँ थियो, सहरलाई हामीले निकै सहायक स्थानमा राखेका थियौं। नेपालको अवको क्रान्तिको आवश्यक्ता भनेको सहरलाई पनि त्यत्तिकै प्राथमिक्ताका साथ जोड्नुपर्छ । गाउँ र सहरको रिलेसनलाई सँगसँगै लिएर जानुपर्छ भन्ने कुरा छ’ उनले भने–‘अर्को कुरा हामीले यसलाई अलि सैद्धान्तिक भएर हेर्दाखेरी वर्ग संघर्ष र जातिय÷क्षेत्रिय मुक्तिको प्रश्नलाई पनि हामीले युनिफाईड लिएर जानुपर्छ भन्ने हो । वर्ग संघर्षले नेतृत्व गर्नुपर्छ, तर उत्पीडित जुन जातिय÷क्षेत्रिय अवस्था छ, जसलाई हाम्रो एकिकृत जनक्रान्ति अन्तर्गत हामीले मिश्रित सामाजिक संरचनागत रुपमा ब्याख्या गरेका छौं । नेपालमा विभिन्न प्रकारका समुदायहरु संस्कृतिहरु छन् । र ति कयौं समुदाय र संस्कृतिहरु चै विगत लामो समयदेखि अलिकती उत्पीडन र छायाँमा परेका स्थितीहरु छन् । त्यो उत्पीडित समुदाय र संस्कृतिहरुलाई पनि सम्वोधन गर्नुपर्छ नेपालको वर्गसंघर्षले। नेतृत्वदायी पंक्तिमा वर्ग संघर्ष रहेता पनि जातिय÷क्षेत्रिय उत्पीडनको मनोविज्ञानलाई पनि समेटनुपर्छ, युनिफाईड गर्नुपर्छ भन्ने लक्ष छ।’
नेकपा माओवादीको लक्ष स्पष्ट वर्ग संघर्ष रहेको उनले वताए । ‘त्यसलाई वर्ग संघर्षले नेतृत्व गरेको जातिय÷क्षेत्रिय आन्दोलन र संघर्ष भनेका छौं । प्राप्त गर्ने वाटो चै वैधानिक वा अवैधानीक भन्न खोजको हो भने हामी दुईटै कुरामा तयार छौं । वैधानीक ढंगले यसलाई पाप्त गर्न सकिन्छ भन्ने विस्वास हुँदासम्म हामी वैधानिक वाटोवाट जाँन्छौं’ उनले भने–‘जव वैधानिक ढंगले यसका लिमिटेसन सकिए भन्ने लाग्छ अनि हामी संघर्षको वाटोमा जान्छौं ।’
‘तपाईलाई अहिले के लागिरहको छ ? वैधनिक वाटो वाटै सकिन्छ भन्ने लागेको छ की अवैधानिक वाटो नै हो भन्ने लागेको छ ?’ भन्ने जिज्ञासामा उनले भनेका छन्–‘यो सत्ता, अहिलेको संरचनाले जनताका मागलाई सम्वोधन नगरेको होकी ? विस्तारै हामीलाई अवैधानीक वाटोमा धकेल्न खोज्या होकी ? जस्तो त हामीलाई फिल भईरहेकै छ।’
‘भनेपछि अव तपाईहरु ससस्त्र संघर्षमा जाँदैहुनुहुन्छ ?’ भन्ने प्रश्नमा त्यसलाई हामीले भनिनसकेको तर, सशस्त्र संघर्षको अनिवार्यतालाई नछोडेको उनले वताएका छन् । एमाले–माओवादीको भनाई र गराईमा धेरै भिन्नता रहेको वताएका उनले ब्यवहारमा एमाले कहिलै सशस्त्र संर्घमा नजाने दावी गरेका थिए ।
‘वहाँहरुले (एमाले) भन्नुभको छ ...., त्यो त हो। तर, ब्यवहार के हो भने वहाँहरु सशस्त्र संघर्षमा अव कहिलै जानु हुन्न’ उनले भनेका थिए–‘तर, हामीले जे भनेका छौं, जानुपर्छ भन्ने हो ।’
सशस्त्र संघर्षका लागि कुनै तिथी मिति नतोकिएको र कुनै पनि पनि हुन सक्ने वताएका उनले भने–‘यसको लागि तिथिमितिको कुरा त हुँदैन।’
जनताले उठाएका मागहरुलाई राज्यले सम्वोधन नगरे सशस्त्र संघर्षमा जानु वाध्यता हुने उनको भनाई थियो । ‘सत्ता संरचनाले हामीले जनताको लागि÷राष्ट्रको लागि उठाएका मागहरुलाई संवोधन गर्ने हैसियत÷क्षमता राखेन भने जानु अनिवार्यता हुन्छ’ उनले भने–‘ सशस्त्र संघर्षमा जाने हो भने तयारी त अटोमेटिक हुन्छ। तयारीको एउटा श्रृंखला त हुन्छ। आधारभुत कुरा भनेको सशस्त्र संघर्षमा जानुपर्ने स्थिती छ नेपालमा भन्ने हो। हाम्रो परिभाषा पनि नयाँ नै छ। हतियारवद्ध, त्यो पनि जनताको सहभागितासहितको युद्ध । फेरी हामीले संसारमा गरिएका जति पनि लडाईहरु छन्, क्रान्तिहरु छन् ति सवै जनयुद्ध हुन् भनेका छौं । लेनिनले लडेको पनि जनयुद्ध नै हो, माओले लडेको लडाई पनि जनयुद्ध नै हो । टर्की, फिलीपिन्स, रुष, कम्वोडिया सवै ठाउँमा गरिएका लडाईहरु जनयुद्ध नै हुन ।’
सशस्त्र संघर्षको तयारीका विषयमा भने उनले स्वभाविक रुपमा वुझनु पर्ने वताए । ‘तयारीको कुरालाई हामीले स्वभाविक रुपमा के वुझौ भने यदि कोहि मान्छेले लडाईको तयारी÷सशस्त्र संघर्षको कुरा गर्छ भने यसको तयारी त आधारभुत रुपमा रहन्छ नी। तर, त्यसको मतलव कुन स्तरको तयारी, कहिलेको लागि तयारी ? यि कुरा चै नितान्त प्राविधिक कुरा हुन जान्छ ?’ उनले भनेका थिए–‘विगत जनयुद्धमा पनि हामीले हतियार पहिला वनाएर लडाईमा गएको होईन, लडाईमा गएरै हामीले हतियार प्राप्त गरेको हो । अवको परिस्थितीमा पनि कस्तो लाग्छ भने हतियार वनाएर लडाईमा जानुपर्छ अर्थात कारखाना खोलेर हतियार उत्पादन गर्ने भन्दा पनि जाने परिस्थिती पैदा भयो भने प्रत्येक मान्छेको हातमा हतियार छ, प्रत्येक जनताको हातमा हतियार छ ।’
‘तपाईहरुसँग पहिले लुकाएका हतियार पनि छन् ।’ भन्ने सवाल भने उनले अस्विकार गरे । ‘मैले त क्यान्टोनमेन्टमा वुझाएको मेरो नाममा दर्ता छ । त्यहाँ वुझाएको रेकर्ड पनि हेर्न सकिन्छ। हराएका पेस्तोल त कमाण्डरलाई सोध्नुपर्छ। प्रचण्डलाई सोध्नुपर्छ, अरु साथीहरुलाई सोध्नुपर्छ। यदी कतै हराएका थिए भने, तर त्यो क्याम्पमा हराएको थिएन ।’
शान्तिपुर्ण प्रकृयामा आउनुभन्दा अगाडि पनि हतियार थन्क्याईएको थियो भन्ने कुरा गलत भएको उनको भनाई थियो । ‘हतियार थन्क्याईएको भन्ने कुरा चै तस्तो होईन। दर्ता प्रमाणीकरणमा नपरेका चै थिए । हामिले त्यो कुरा प्रचण्डको जिम्मामा छोडेका हौं, त्यो वहाँहरुलाई नै थाहा होला। हामीसँग हतियार छैन । हाम्रो विस्वास के हो भने हतियार भएपछि मात्रै लडाई लडिन्छ भन्ने होईन ।’
‘हामी वढि के देख्छौ भने यो सत्ता युद्ध भन्दा अरु तरिकाले वदलिन्छ भन्ने चै लाग्दैन । युद्धको आवश्यक्तालाई हामीले त्यसरी वुझेका छौ । किनकी जुन शान्तिप्रकृया छ, त्यसको जुन मर्म थियो। शान्तिप्रकृयाको मर्मलाई सम्पुर्ण हिसावले लत्याईसकेपछि त्यसको अल्टरनेट भनेकै युद्ध हो त’ उनी भन्थे–‘त्यसो त युद्ध त सत्ताले पो घोषणा गर्यो, हामीले त गरेकै छैन । सत्ताले जवरजस्ति रुपमा युद्धको घोषणा गरेको छ, भने युद्ध हामीले होईन सत्ताले पो निम्त्याउँदैछ।’
सत्ताले अन्तिमसम्म नधकेल्दासम्म आफुहरु सशस्त्र संघर्षमा नजाने वताएका उनले शान्ति सम्झौता, शान्तिप्रकृयामा जे थियो त्यसलाई पुनर्विचार गर्न सत्तालाई भनेको पनि वताए । ‘विशेषगरी कांग्रेस, एमाले र एमाओवादी (प्रचण्ड वावुराम) लाई भन्याछौ। प्रचण्ड वावुरामले पनि माओवादीका मुल्य मान्यताहरुलाई सम्पुर्ण रुपमा छोडिदिनु भो, त्यसलाई पुनरविचार गर्नोस भन्याछौ हामीले’ उनले भने–‘कांग्रेस एमालेको हकमा पनि हामीले के भनेका छौ भने। कमसेकम शान्तिप्रकृयाको आधारभुत मर्म भनेको दुई वटा सत्ताको युनिफिकेसन गर्ने भन्ने थियो, दुई वटा सेनको युनिफिकेसन गर्ने भन्ने थियो, दुईवटा अदालतको युनिफिकेसन गर्ने भन्ने थियो । त्यो त भएन त ।’
उनले तत्कालिन अवस्थामा पनि नेकपा माओवादीको ज्ञानेन्द्र शाहसँग साँठगाँठ भएको कुरा घुमाउरो पारामा स्विकारेका थिए । ‘तपाईहरुको साँठगाँठ ज्ञानेन्द्रसँग छ नी ?’ भन्ने प्रश्नमा उनले भनेका थिए–‘त्यसो त हिजो प्रचण्डकै पालामा विरेन्द्रसँग पनि थियो ।’
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का नेता तथा सरकारसँग हालसालै भएको वार्ता टोलीका संयोजक उदय चलाउने (दिपक) सँग पार्टीमाथि प्रतिवन्ध लाग्नुअघि नेपाल आजले गरेको विशेष कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला।