कांग्रेस–जसपा छलफलः मिलेर जाने सहमति
सत्ता समिकरणका सम्वन्धमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच भएको छलफल निस्कर्ष विहिन भएको छ। तथापी उनीहरुले मिलेर जाने सहमति गरेका छन् ।
कांग्रेस सभापति शेरवहादुर देउवा निवास बुढानीलकण्ठमा नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरुबीच सत्ता सहकार्यको विषयमा छलफल भएको थियो । तर, ठोस निष्कर्ष भने नआएको एक नेताले वताए ।
जसपा नेताहरुले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, नागरिकताको समस्या समाधान लगायतका एजेण्डाहरु प्रस्तुत गरेका थिए । तर, त्यस विषयमा कुनै सहमति नजुटेको नेताहरुले वताएका छन् ।
कांग्रेससँग सबै विषयमा कुराकानी भएपनि मिलेर जाने विषयमा विशेष कुराकानी भएको जसपाका नेताले वताए । हाम्रो साथीहरु जेलमा छन् तिनीहरुलाई छोड्नुपर्ने विषयमा कुरा राखिएको जसपाका अध्यक्ष महन्थ ठाकुरले बताउए ।
नागरिकताको समस्या समाधान गर्नु पर्ने, मुद्दा फिर्ता हुनुपर्ने लगायतका कुरा राखेको वताएका उनले कुनै पनि विषयमा सहमति नभएको र बृहत छलफलको आवश्यकता रहेको वताए ।
नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको र कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनाउनु उचित हुने धारणा आएको जानकारी दिए।
‘खुला रुपमा अहिलेको सन्दर्भमा एउटा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने सन्दर्भमा मत, अभिमत सबैबाट प्रकट भएको छ । ठोस रुपमा यो कुरामा नै हामी टुंगोमा पुगेका छौ भनेर भनिहाल्ने बेला भएको छैन’ उनले भने–‘तर संसदको पुनःस्थापना पछाडी अबको राष्ट्रिय राजनीतिले हिँड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुराको सन्दर्भमा उहाँहरुले अपेक्षा पनि राख्नुभयो ।’
राष्ट्रिय राजनीतिले एउटा निकास दिनुपर्ने र त्यो निकास तर्फ अगाडी बढ्दै गर्दा नेपाली कांग्रेस पार्टी, नेकपा(माओवादी केन्द्र) र जसपा पार्टी दलहरु एकठाउँ उभिने परिस्थिति बन्नु उचित हुन्छ भन्ने धारणा उनीहरुवाट आएको उनको भनाई छ ।