News

केपी ओली सांसदलाई पैसा र मन्त्री दिएर आफूतिर तान्न खोज्दैछन्ः प्रचण्ड

केपी ओली सांसदलाई पैसा र मन्त्री दिएर आफूतिर तान्न खोज्दैछन्ः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का केहि सांसदहरुलाई पैसा र मन्त्रीको प्रलोभनमा पारेर आफूतिर लैजान लागेको आरोप लगाएका छन् ।

बुटवलमा शुक्रवार आयोजित कार्यकर्ता भेलामा बोल्दै दाहालले जनता समाजवादी पार्टीलाई फकाउने, नभए पनि कुनै न कुनै तरिकाले पैसा/मन्त्री दिएर १८–२० सांसद् लगेर बहुमत कायम गर्ने कसरत भईरहेको वताए ।

कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्ताव राखी ओलीलाई केही दिनभित्रै बिदाइ गर्ने कसरतमा आफूहरु रहेको पनि उनले बताए । नेकपा एमालेका नेता माधवकुमार नेपाल, प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेर मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको भनाई छ । उनले भने– ‘सबैसँग समझदारी बनाएर समर्थन फिर्ता लिँदा सरकार ढल्छ । नगरी फिर्ता लिँदा फेरि अप्ठ्यारो आउन सक्छ’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई प्रतिगामी भनेकाले आफूहरु सरकारमा रहिरहन नहुने उनको धारणा छ। 

अध्यक्ष दाहालले प्रतिनिधिसभा पुनःस्थापित भए पनि प्रतिक्रियावादीको षड्यन्त्र अझै समाप्त नभएको बताए। ‘लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन षड्यन्त्र भइरहेको छ । प्रतिक्रियावादीहरु सलबलाइरहेका छन्,’ उनले भने, ‘हामीले रिल्याक्स गर्ने र काम पूरा भएको सोच्ने गर्नु भएन । हाई अलर्टमा बस्नुपर्ने छ । पूरै चनाखो बन्नुपर्ने छ ।’

सरकार निर्माण गर्ने तथा गठबन्धन निर्माण गर्नेलगायतका काममा देखिएको अवरोधले प्रतिगमनकारी अझै पनि सलबलाइरहेको बताए । ‘यस्तोमा संविधान, लोकतन्त्र र निरंकुशताविरुद्ध जानेसँग सहकार्य गरिरहनुपर्ने अबस्था छ,’ उनले भने, ‘हामीहरु आत्तिन पर्दैन तर चनाखो बस्नुपर्छ ।’

समर्थन फिर्ता सांसदलाई पैसा र मन्त्री प्रतिक्रियावादीको षड्यन्त्र

विशेष