१५ दिने मिथिला मध्यमा परिक्रमा सुरु
वीरेन्द्र रमण
जनकपुर– नेपालकै सबैभन्दा लामो दुरीको १५ दिवसीय मिथिला मध्यमा परिक्रमा सुरु भएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको मिथिला विहारी मन्दिरबाट भगवानको डोला सहित परिक्रमाको सुरुवात भएको हो । सोही डोलाले परिक्रमाको नेतृत्व गर्ने चलन छ ।
शनिवार विहान मन्दिरबाट डोला निस्किँदा गाउँ–गाउँका सार्वसधारणहरुले आफनो घरको अगाडि डोलालाई पुजापाठ गरेका थिए । डोला घर आगडि आएपछि उनिहरुले पुजा सामग्री सहित जयजयकार गर्दै डोलाको पुजा र स्वागत गरे।
फागुन शुक्ल औंसीको दिनदेखि परिक्रमाको औपचारिक सुरुवात हुने गरेको छ। भगवान मिथिला विहारीको डोला लिएर भक्तजनहरु अपरान्ह जनकपुरस्थित रत्नसागर मन्दिर पुगेका छन्। परिक्रमामा सहभागी श्रद्धालु त्यहाँ विश्राम गरेर जानकी मन्दिरको दर्शन गर्दै पहिलो पडाव जनकपुरकै हनुमाननगर पुगेका थिए ।
मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कल्यानेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुदैं औरही पुग्छ। त्यसपछि भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै फागु पूर्णिमाको दिन जनकपुर आइपुग्ने गरेको छ ।
नेपाल तथा भारतसहित कुल १ सय ३३ किलोमिटर लामो दूरीमा पैदल यात्रा गर्ने यात्री निकै निष्ठाका साथ १५ दिनको समय बिताउँछन्। यो परिक्रमामा सहभागी हुँदा पापमोक्ष हुनुका साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ।