वम विस्फोटका घाईतेलाई उपचारका लागि काठमाण्डौ पठाईयो
सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको वम विस्फोटमा परी गम्भिर घाईते भएका एक जनालालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको छ ।
धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।
कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो करिव १ बजे भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइते नायव सुब्वा शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ ।
अन्य ६ जना घाइतेको लहानमै उपचार भइरहेको छ । घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । च्यातिएको अवस्थामा पर्चा फेला परेको प्रहरीले जनाएको छ ।
तर, हालसम्म कसैले पनि विष्फोटको औपचारिक जिम्मेवारी लिएको छैन ।