News

चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छः प्रधानमन्त्री 

चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छः प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिने वताएका छन् ।

प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्रीले यस्तो वताएका हुन् । ‘हाम्रो देश विकासित नहुने देश होइन, ५ वर्षभित्र हामीले लगभग दिगो विकासका लक्ष्य पूरा गर्न सक्छौँ’– उनले भने। 

दिगो विकासको मापदण्ड २०३० भन्दा अगाडि नै पूरा हुने पनि ओलीले वताए । ‘हामीसँग धेरै सम्भावना छ, देशलाई सामाजिक र भौतिक विकासको उचाइलाई माथि उठाएका छौँ’ उनले भने–‘चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ।’ 

देश र जनताभन्दा आफ्नो स्वार्थमा हिरिक्क हुने प्रवृत्ति बढ्दै गर्दा पनि सरकारले विकास निर्माणमा छलाङ मारेको उनले दाबी गरे। 

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गरे।

सरकारले २१० स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माणका लागि चालु आर्थिक वर्षका लागि ५ अर्ब रूपैयाँ बजेट छुट्याइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माण र मर्मतको प्रस्ताव पेश गर्न भनेको थियो । त्यसमध्ये ३९२ वटा स्थानीय तहले सडक निर्माण र मर्मतको प्रस्ताव पेश गरेका थिए । कतिपयले दोहोरिने गरी कार्यक्रम पेश भएकाले २१० सडक छनोट भएको मन्त्रालयले जनाएको छ ।

आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन् । १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाई भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन् ।

२० किलोमिटरभन्दा लामो सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन् ।

विशेष